
कपिलवस्तु, पुष ६।
चाँदीका गरगहना सफा गरिदिने बहानामा स्थानीय सर्वसाधारणलाई झुक्याई ठगी गर्ने एक भारतीय नागरिकलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति भारतको बिहार प्रदेश अन्तर्गत बेगुसराय जिल्लाको बखडी पोष्ट खगडिया ग्राम बेला निवासी २० वर्षीय सनी सोनी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। उनले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. ०२, कृष्णनगर बजार क्षेत्रमा सुन, चाँदी तथा पित्तलका गरगहना टल्काइदिने भन्दै विश्वासमा पारी ठगी गर्ने उद्देश्यले गतिविधि गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।
प्रहरीका अनुसार मिति २०८२ साल पुष ३ गते दिउँसो करिब ४ बजे कृष्णनगर बजारमा गरगहना सफा गरिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो। प्रारम्भिक अनुसन्धानमा उनले गरगहना सफा गर्ने क्रममा चालचलन परिवर्तन गरी बहुमूल्य धातु ठगी गर्ने प्रयास गरेको देखिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सनी सोनीमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट पाँच (०५) दिनको म्याद लिई अनुसन्धान अगाडि बढाइएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले सर्वसाधारणलाई अपरिचित व्यक्तिबाट गरगहना सफा गरिदिने जस्ता प्रलोभनमा नपर्न र शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन आग्रह गरेका छन्।



