सुन तस्करीमा एमालेकाे संलग्नता रहेकाे आशंका, सत्ता-गठबन्धन तोड्ने षड्यन्त्र

सुन तस्करीमा एमालेकाे संलग्नता रहेकाे आशंका, सत्ता-गठबन्धन तोड्ने षड्यन्त्र

अवैध सुन प्रकरण : तीन जना निलम्बित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृतसहित तीन जना कर्मचारी निलम्बनमा परेका छन् । सुन बरामद प्रकरणमा मुछिएका तीन जना कर्मचारी निलम्बनमा परेका हुन् । हङकङबाट क्याथे एयरवेजको जहाजबाट आएको ब्रेकशुमा लुकाएर ल्याएको १०० किलो सुन भन्सार जाँच पास भएर निस्किएको देखिएपछि तीनै जनालाई निलम्बन गरिएको बताइएको छ । निलम्बनमा पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिददार कुमार ढकाल र सरोज श्रेष्ठ रहेका छन् । सुनको भन्सार पासमा उनीहरूको संलग्नता देखिएकाले निलम्बन गरिएको भन्सार विभागले जनाएको छ । भन्सारबाट छुटेर भाग्न लाग्दा राजश्व अनुसन्धान विभागले पाएको सुराकको आधारमा खटिएको टोलीले उक्त सुन बरामद गरेको थियो । यस प्रकरणमा विभागले १० जनालाई पक्राउ गरिसकेको छ ।

अवैध सुन भित्र्याउन एमालेको संलग्नता रहेको आशंका  ?

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अवैध सुन नेपाल भित्र्याउन एमालेको संलग्नता रहेको छ कि ? भन्दै आशंका गरेका छन् । अवैध सुन र यसको नियन्त्रणप्रति एमालेले देखाएको प्रतिकृयाबारे टिप्पणी गर्दै मुख्यमन्त्री जम्कट्टेलले शनिवार दिउँसो सामाजिक सञ्जालमार्फत यस्तो आशंका गरेका हुन् । उनले अवैध रूपमा ल्याइएको सुन समात्न सफल भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री लगायतलाई बधाई दिनुपर्नेमा एमालेले विरोध गर्दै जुलुस निकालेकोप्रति आफू प्रतिक्रियाविहीन भएको समेत बताए । एमोलेले अवैध सुन समात्नु हुँदैन भन्न खोजेको हो ? भन्दै मुख्यमन्त्री जम्कट्टेलले प्रश्न समेत गरेका छन् । अवैध सुन समातेको विरोधमा सडकमा राँके जुलुस निकाल्ने एमाले पार्टीलाई के भन्ने ? के अवैध सुन समाउनु हुँदैन भनेको हो ? कि एमाले अवैध सुन ल्याउनमा सहभागी छ ? नत्र अलिकति लाज लाग्नुपर्ने होइन र ?’ भनि सामाजिक सञ्जालमार्फत उनले प्रश्न गरेका हुन् ।

सुन प्रकरणमा शंकर पोखरेलका प्रश्नैप्रश्न

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन प्रकरणमाथि उठेका प्रश्नमा सत्ता नेतृत्वकर्ताले जवाफ दिनु पर्ने बताएका छन् । उनले शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले जवाफ दिनु पर्ने बताएका हुन् । उनले विशेषगरी माओवादी पक्षधरहरुबाट अरुको गालामा बियाँ टाँस्ने धन्दा जारी रहेको उल्लेख गर्दै सत्तामा रहेकालाई प्रश्न गर्नु भनेको अपराध हो भन्ने भाष्य खडा गर्न खोजिरहेको आरोप लगाएका छन् । के कुनै एउटा राम्रो काम गरेका आधारमा सत्तापक्षधरहरुले सबै प्रकारका कमजोरीबाट उन्मुक्ति पाउनु पर्दछ भन्ने सत्तापक्षीय दृष्टिकोण हो भन्दै उनले प्रश्न समेत गरेका छन् । सुन बरामदलाई स्वागत गरेका महासचिव पोखरेलले एयरपोर्टको प्रशासन, सुरक्षा निकाय र भन्सार प्रशासन कहाँ कसको संलग्नता छ र क कसको संरक्षण छ भन्ने स्पष्ट जवाफ दिनु पर्नेमा जोड दिए । उनले नेपालमा चल्ने अधिकांश मोटरसाइकल र स्कुटर भारतीय हुँदाहुँदै चिनियाँ मोटरसाइकलमा प्रयोग हुने समान निरन्तर ल्याउँदै गर्दा पनि किन शङ्काको घेरामा राखेर अनुसन्धान नगरिएको भन्दै थप प्रश्न गरेका छन् ।

रविले सुन तस्करको जालोबारे के भने ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीको जालो निरन्तर चलिरहेकोे बताएका छन् । यस्तो बलियो जालो कुन ढङ्गको मिलेमतो हो त्यो अनुसन्धानबाट मात्रै खुल्ने उनले बताए । शनिबार मोरङको विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताए । अनुसन्धान पूर्ण भएर यसभित्र क–कसको संलग्नता छ भन्ने अहिले नै प्रष्ट नभइसकेकाले आफुहरुले गृहमन्त्रीको राजीनामा माग्ने कुरा एजेन्डा नबनाएको बताए । रास्वपा आफ्नै लाइनमा रहेको बताउँदै उनले कुनै पनि दलको एजेन्डासँग लिनु दिनु नरहेको बताए । मुलुकमा संवैधानिक सर्वोच्चता आफूहरूको लाइन भएको भन्दै भागबन्डामा देशका महत्वपूर्ण पदहरूमा नियुक्ति गर्ने परिपाटी आपत्तिजनक रहेको उनले बताए । उनले सङ्घीय संरचनाको रेट्रोफिट गर्न आवश्यक रहेको भन्दै कार्यकर्तालाई मिलाउने गरी बनाएको प्रदेश संरचना पुनर्संरचना गर्नुपर्ने समेत बताए ।

सुन तस्करीमा राजनीतिज्ञको संरक्षण छैन : वामदेव

नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता रहेको भन्ने आरोपमा कुनै सत्यता नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गौतमले यस्तो बताएका हुन् । सुन तस्करीमा सधै राजनीतिक संलग्नता जोडिनेभन्दा पनि भन्सारमा खटिने कर्मचारी नै मुख्य रुपमा दोषी हुने उनको दाबी छ । आफू गृहमन्त्री हुँदा सुन काण्ड नभएको दाबी गर्दै उनले त्यस समय आफुलाई अप्ठ्यारोमा पार्न धेरै खेल खेलिएको समेत बताए । सुन तस्करीको सवालमा अहिले यो सुन कुन देशबाट आयो भन्ने पनि महत्वपूर्ण विषय भएको र तस्करहरुले कस्तो जालो फैलाएका रहेछन् भन्ने स्पष्ट भएको उनले बताए ।

गठबन्धन तोड्ने षड्यन्त्रको आशंका

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भईरहेको आशंका व्यक्त गरेका छन् । अध्यक्ष नेपालले काँग्रेसलाई कम्युनिष्टहरुको शत्रु हो भन्ने पारेर पनि सत्तारुढ गठबन्धन फुटाउने सक्ने भएकाले त्यसप्रति सचेत रहन पनि आग्रह गरे । शनिबार काठमाडौंमा आयोजित ‘समाजवादः बहस र संघर्ष’ विषयक कार्यक्रममा बोल्दै उनले एमालेप्रति लक्षित गर्दै कम्युनिष्ट भनिएकाहरुले पनि प्रतिगामीहरुसँग हातेमालो गरिरहेकाले त्यसलाई बुझेर आफूहरुले पनि सत्तारुढ गठबन्धनलाई कायम राख्दै आफ्नो शक्ति वृद्धि गर्ने कुरामा केन्द्रित हुनुपर्ने समेत बताए । जनतासँगको सम्बन्धलाई एकाकार गर्दै अघि बढनुपर्नेमा पनि उनको जोड छ । उनले व्यक्तिवाद हावी भएकै कारण तत्कालीन नेकपा समेत विभाजित हुन पुगेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढनुपर्ने बताए । उनले पूँजीवादले मुनाफा मात्रै हेर्ने भएकाले पनि जनताको हितका लागि समाजवादको विकल्प नभएको जिकीर गरे ।

कम्युनिष्टले वीपीलाई चिनेनन् : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वेश्वरप्रसाद कोइरालाको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाइने बताएका छन् । वीपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा शनिबार प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा आयोजना गरेको ‘आजका सन्दर्भमा वीपीका विचार’ विषयक विचार गोष्ठीमा उनले यस्तो बताएका हुन् । उनले बिपीको विचार र चिन्तनलाई समावेश गरेर कांग्रेस केन्द्रीय समिति अगाडि बढ्ने समेत बताए । लोकतान्त्रिक प्रतिनिधिका रूपमा बिपीलाई चिन्नुपर्छ भन्दै उनले वीपी दूरदर्शी र परिपक्व नेता भएकाले वीपी कोइरालाको विचारलाई कांग्रेसले नछाडेको समेत बताए । उनले नेपालको कम्युनिष्ट आन्दोलनले बिपीलाई समयमा चिन्न नसकेको गुनासो समेत गरे । बिपीलाई कम्युनिष्ट आन्दोलनले चिन्न नसक्दा झापा आन्दोलन र माओवादी आन्दोलन भएको उनले जिकिर गरे । यस्तै उनले उनले तीन सय २९ स्थानीय तहको नेतृत्व गरेको कांग्रेसले चार प्रदेश सरकारको समेत नेतृत्व गरेकाले अब राम्रो काम गरेर आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने वातावरण निर्माणमा लाग्नुपर्ने बताए ।

नयाँ पार्टीहरु खहरे खोलाजस्तै भएको टिप्पणी

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नयाँ दललाई खहरेको संज्ञा दिएका छन् । बीपी स्मृति दिवसका अवसरमा रामेछापमा आयोजित एक कार्यक्रममा प्रमुख सचेतक लेखकले यस्तो बताएका हुन् । उनले मुलुकका समस्याको पुराना पार्टीबाट नै निकास निस्कने दाबीसमेत गरे । कांग्रेस सुख्खायाम मानिने हिउँदको मंसिर पुसमा पनि उत्तिकै लयमा बग्ने नदी समान पार्टी भएको भन्दै उनले अरु खहरे भएको र मंसिर आए पछि देखिँदा पनि नदेखिने बताए । पार्टीका संस्थापक वीपी कोइराला कांग्रेसको नेता मात्रै नभएर महामानवसमेत भएको बताउँदै उनले हरेक कांग्रेसीले वीपीको सिद्धान्तमा हिँडनु पर्ने र उनका बिचार अनुसरण गर्नुपर्नेमा जोड दिए ।

कम्युनिस्ट पार्टी एक हुनुपर्छ : उपाध्यक्ष भुसाल

नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले मुलुकमा बलियो कम्युनिष्ट पार्टीको आवश्यकता रहेको बताएकी छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले एकीकृत हुनुपर्ने बेलामा कम्युनिष्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा रहेको समेत बताइन् । उनले एउटै नेकपा बनाउँदा जनताको जनमत इतिहास कायम गर्नेगरी प्राप्त गरेको भन्दै उनले यो कायम रहन नसकेको बताइन् । तर अब पुनः बलियो कम्युनिष्ट पार्टी बनाउने कुराबाट पछि हट्न नहुने भन्दै उनले समाजवादी मोर्चा त्यसकै प्रयास भएको बताइन् ।

लम्पी स्किन नियन्त्रणमा नेपाल-भारतबीच सहमति

नेपाली पशुमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणमा मिलेर सहकार्य गर्न नेपाल र भारतबीच सहमति भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल र भारतीय मत्स्य, पशुपक्षी तथा डेरी मन्त्री पुरुषोत्तम रुपालाबीच भएको छलफलमा लम्की स्किन रोगको नियन्त्रणमा दुवै देश मिलेर अगाडि बढ्ने सहमति भएको हो । मन्त्री भुसालले हालै गरेको भारत भ्रमणका क्रममा भएको समझदारीबारे जानकारी दिन आयोजित कार्यक्रममा नेपाल र भारतका सीमावर्ती जिल्लामा मिलेरै लम्पी स्किन रोगको भ्यक्सिनेसन गर्ने सहमति भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । यसैगरि, खोरेत रोग उन्मूलनका लागि भारत मिलेर अगाडि बढ्न तयार देखिएको मन्त्री डा भुसालले बताए । त्यसका लागि दुवै देशको सरकारी पक्षबाट आवश्यक काम अगाडि बढाउने सहमति भएको छ । भारतले गाई र च्याङ्ग्रााको नश्ल सुधारका लागि उन्नत पशु नेपाललाई दिने भएको छ । गाईको गिर र साइवाल गाईको उन्नत जात नेपाललाई दिने भारतीय पशुपक्षीमन्त्री रुपालाले प्रतिबद्धता जनाएको जनाइएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *