
काठमाडौं । हङकङबाट अवैध तरिकाले भित्र्याइएको करिब सय किलो सुन प्रकरणका नयाँ नयाँ तथ्य सार्वजनिक भइरहँदा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को निशानामा गृहमन्त्री नारायणकाजी श्रेष्ठ परेका छन् ।
सुन प्रकरणमा गृहमन्त्री श्रेष्ठको संलग्नताको शंकादेखि असक्षमतासमेत रहेको दावी गर्दै एमालेका भातृ संगठनदेखि अध्यक्ष केपी शर्मा ओलीसम्मले उनीमाथि शाब्दिक आक्रमण गरिरहेका छन् ।
एमालेको एक भातृ संगठनका अध्यक्षले सामाजिक सञ्जालमा गृहमन्त्रीलाई नै सय किलो सुन तस्करीमा मुछेर स्टाटस लेखेका थिए ।
त्यसबिरुद्ध गृहमन्त्रीको सचिवालय साइबर ब्युरोमा ती अध्यक्षविरुद्ध जाहेरीदिन पुगेको थियो ।
साउन तीनमा सय किलो सुन समातियो, साउन ५ मा नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा मशाल जुलुस निकालेको थियो ।
‘एक क्विन्टल सुन प्रकरणविरुद्ध मशाल जुलुस’ भन्ने वाक्य लेखेर युवा संघले मशाल जुलुसको प्रचार गरिएको थियो ।
सय किलो सुन समाएकै विरुद्ध मशाल जुलुस भन्ने अर्थ लाग्ने वाक्यमा एमालेका नेताहरुले थप ब्याख्या गर्दै ‘सेटिङका आधारमा भइरहेको सुन तस्करीका मुख्य योजनाकारहरुलाई पक्राउ गरिनु पर्ने माग राखेर मशाल जुलुस निकालिएको हो’ भनेका थिए ।
यस्तो मशाल जुलुसमा पनि गृहमन्त्री श्रेष्ठमाथि आक्रोश नै पोखिएको थियो ।
सुन समातिएको भोलिपल्टै भन्सार विभागले आफ्नो अनुसन्धान शाखाका निदेर्शक मानबहादुर पौडेलको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।
पौडेलको संयोजकत्वमा गठित समितिलाई भन्सार जाँचपासमा संलग्नहरुमाथि अनुसन्धान गर्ने जिम्मेवारी दिइएको थियो । समितिले अहिले आफ्नो काम गरिरहेको छ ।
यो बाहेक सुन तस्करीको सुरुवातदेखि नेपाल आउँदासम्मका सबै आयामहरु केलाउने काम भइरहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले दावी गरिरहेका छन् ।
सय किलो सुन बरामद भएको प्रकरणमा प्रहरीलाई बाहिरै राखेर अनुसन्धान भइरहेको छ । अर्थात यो प्रकरणमा गृहमन्त्री श्रेष्ठ अन्तर्गतको प्रहरी संगठनले गर्ने अनुसन्धान प्रष्ट देखिएको छैन । तर प्रतिपक्षी एमालेले ‘राजनीतिक सेटिङबिना यति ठूलो परिमाणमा तस्करी हुनै नसक्ने दावी गर्दै गृहमन्त्रीकै संलग्नता रहेको शंका गरिरहेको छ ।’
कम्बोडियाबाट फर्केर सोमबार राति त्रिभुवन विमास्थल आइपुगेको एमाले अध्यक्ष ओलीले सुन तस्करीमा गृहमन्त्रीको संलग्नता छ छैन ? त्यो बताउनु पर्ने उल्लेख गरे । ओलीले सानोतिनो संलग्नताबाट यति ठूलो तस्करी हुनै नसक्ने भएकोले यस प्रकरणमा जोडिएको मुख्य पात्र खोजी हुनु पर्ने बताए ।
सुन बरामद भएको दुई दिनपछि गृहमन्त्री श्रेष्ठ त्रिभुवन विमानस्थलको निरिक्षण गर्न पुगेका थिए । निरिक्षणका क्रममा गृहमन्त्रील श्रेष्ठले कसैको दबाबमा नपरी सुन प्रकरणको छानविन हुने बताए ।
त्यो बेला सञ्चारकर्मीहरुले तीन ‘ब’ अर्थात बालुवाटार, बालकोट र बुढानिलकण्ठको दबाब आयो भने के गर्नु हुन्छ ?
भन्ने प्रश्नको जवाफमा उनले कुनै कोट, टार र पार्टीको दबाबमा नपरी अनुसन्धान गर्ने बताएका थिए ।
गृहमन्त्री श्रेष्ठको यहि अभिव्यक्तिपछि नेकपा एमालेका नेताहरु उनीप्रति बढी आक्रामक भएका छन् ।
अहिले गृहमन्त्री र एमालेबीच आरोप प्रत्यारोपणको शृङ्खला चलिरहेको छ । एमाले अध्यक्ष ओलीले गृहमन्त्रीलाई तमिज नभएका र गैर जिम्मेवार भनेका छन् ।
गृहमन्त्री श्रेष्ठले चाहिँ भ्रष्टाचारविरोधी कार्यहरु गर्न थालेपछि प्रतिपक्षी दल र सत्तापक्षबाट समेत आक्रमण भइरहेको प्रतिक्रिया दिइरहेका छन् ।
जासुस पाल्न वर्षको सवा अर्ब खर्च, सूचना दिन्छन् अरु नै कसैले – जस लिन्छन् अर्थमन्त्री
अपराध नियन्त्रण तथा राष्ट्रिय सुरक्षाका लागि सूचना संकलन गर्न राज्यले राष्ट्रिय अनुसन्धान विभाग राखेको छ ।
विभागमा सयौं कर्मचारी छन् । केही अघिको आँकडाअनुसार विभागका लागि राज्यले वर्षको सवा अर्बभन्दा बढी खर्च पनि गर्र्दै आएको छ ।
केपी ओली प्रधानमन्त्री हुँदा सर्वशक्तिमान हुने उनको महत्वाकांक्षाका कारण विभागलाई उनले गृहबाट खोसेर प्रधानमन्त्री कार्यालय मातहतमा ल्याए ।
ओलीको त्यो महत्वाकांक्षी कार्यलाई शेरबहादुर देउवा र अहिलेका पुष्पकमल दाहाल प्रचण्डले पनि निरन्तरता दिइरहेका छन् ।
जानकारहरुका अनुसार गोप्य सूचना संकलन गर्नुपर्ने अनुसन्धान विभागमा कर्मचारीका रुपमा अधिकांश दलको झोला बोक्ने कार्यकर्ताहरुलाई भर्ती गरिएको छ ।
उनीहरुले पत्रपत्रिमामा छापिएका समाचारहरुको कटिङ संकलन गर्छन् । तर तिनैका लागि राज्यले वर्षको करोडौं खर्च गर्दै आएको छ ।
अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले बजेटमा तस्करीविरुद्ध गोप्य सूचना दिनेलाई बरामद भएको वस्तुको मूल्यको १० प्रतिशत कमिसन दिने व्यवस्था ब्युँताए । त्यही कमिसनको लोभमा अहिलेको सुन बरामद भएको हो ।
एकातिर गोप्य सूचनाकै लागि राज्यले सयौं कर्मचारीलाई विनाअर्थ पालेर राख्नु परेको छ ।
अर्कोतिर सुराकीलाई कमिसनका लागि १० प्रतिशत बेग्लै दिनु परिरहेको छ ।
तर पनि अर्थमन्त्री महत सुन बरामद हुनुमा आफ्नो नीतिगत व्यवस्था नै प्रभावकारी भएको दावी गरिरहेका छन् ।
अहिलेसम्म समातिए १६ जना, सुनका असली मालिक भेटिएका छैनन्
सय किलो सुन प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् ।
भन्सार अधिकृत – सन्तोष चन्द ।
खरिदार तथा जाँचकी – कुमार ढकाल ।
एक्स रे अपरेटर– सरोज श्रेष्ठ ।
भन्सार एजेन्ट – रुक्मिला सुब्बा ।
भन्सार एजेन्ट – सुदर्शन गौतम ।
भन्सार एजेन्ट– यादव पराजुली ।
कार्गो सञ्चालक – पुष्कर भट्ट ।
कार्गो सञ्चालक – राजन श्रेष्ठ ।
भन्सार एजेन्ट – राजेन्द्रकुमार राई ।
भारतीय नागरिक – थुप्तेन छिरिङ ।
चिनियाँ नागरिक जेयुङ लिन ।
ट्याक्सी चालक – अशोक रानामगर ।
रेडी ट्रेडका सञ्चालक – दिलिप भुजेल ।
सहयोगीहरु – हर्क राई, थुक्पिन छिरिङ र राजकुमार भुजेल छन् । यी मध्ये कोही पनि सुनका असली मालिक होइनन् । सुन ल्याउन मुख्य व्यक्ति वा सञ्जाल बारे राजस्व अनुसन्धान विभागले कुनै विषय बाहिर ल्याइ सकेको छैन ।