
- नवराज घिमिरे
नुवाकोट । ककनी स्ट्रबेरी खेतीमा प्रख्यात छ । ककनीका धेरै युवाहरुको यो खेतीमा आर्कषण बढ्दो छ । अहिले एक घर एक स्ट्रबेरी खेती जस्तै भएको छ ककनी । वैदेशिक रोजगारीको मोह त्यागेर आधुनिक तवरबाट स्ट्रबेरी खेतीमा लागेका किसानमध्ये छेसाङ तामाङ सफल किसानको रुपमा चिनिन्छन् ।
उनले १० देखि १२ रोपनी जग्गामा स्ट्रबेरी खेती गरेका छन । ‘नमुन्चेत स्ट्रबेरी कृषि फार्म दर्ता गरी व्यावसायिक रुपमा यो खेती शुरु गरेको पनि ५ बर्ष भयो । राम्रै आम्दानी गरेको छु । मेरो जिबनको उर्जासिल समय सबै यसै खेतीमा लागेको छ । यो पेशा बाट सन्तुष्ट छु,’ उनले सुनाए ।
छेसाङ तामाङ अरुको लागि उदारणीय पात्र बनेका छन् । नेपालमा स्ट्रबेरीको माग र बजार मूल्य राम्रो हुँदै गएका कारण यो खेतीमा कृषकको आकर्षण बढेको तामाङ बताउँछन् ।
स्ट्रबेरी एक प्रकारको फल हो । पाकेपछि रातो हुन्छ । यसबाट जुस, जाम र वाइनहरुसमेत उत्पादन हुने भएपछि अन्तर्राष्ट्रिय बजारमा यो फल लोकप्रिय हुँदै गएको छ । यो एक प्रकारको अगार्निक भएको कारण स्वास्थ्यवर्धक छ । यसबाट बन्ने वाइन, जुस र जामहरुको विदेशी बजारमा ठूलो माग बढ्दै गएको छ । तामाङले भने, ‘मेरो आम्दानीको ठूलो स्रोत नै स्ट्रबेरी खेती बनेको छ । स्ट्रबेरी खेतीकै कारण ककनीका धेरै कृषकहरु आर्थिक रुपमा सबल हुन सकेका छन् ।’
समाज सेवा र राजनीति दुबैमा लगाव भएका तामाङ ककनीबासीका लागि सफलताको प्रेरक पात्र बनेका छन् । उनको निरन्तरको कर्म , लगनशिलता र मेहनतको फल नै आजको सफलता रहेकाे उनी ठान्दछन् ।
ककनीमा उत्पादन भएको स्ट्रबेरी काठमाडाैँमा मात्र सीमित नभएर पोखरा, चितवन, भैरहवा, विराटनगर लगायत नेपालका सबै शहरहरुमा यस्को माग बढदै गएको छ । अन्तराष्ट्रिय बजार भने भारत, जापान, अमेरीका र यूरोपको शहरहरुमा समेत निर्यात हुने गरेको छेसाङ बताउँछन् ।
आफुले स्ट्रबेरीको बिरुवा समेत उत्पादन गरेर बिक्री गरिरहेको तामाङले जानकारी दिए । उनका अनुसार ककनीमा ५० लाख स्ट्रबेरीको बिरुवा रोपिन्छ र १ लाख ६० हजार बिरुवा उत्पादन गरिन्छ । बिरुवाको बिक्री-वितरण पनि राम्रै छ । तामाङ भन्छन्- ‘स्ट्रबेरी खेतीबाट बार्षिक रुपमा सबै खर्च कटाएर १० लाखसम्म बचत हुने गरेको छ । यो खेती बढेसँगै ककनीमा रोजगारीको समेत सिर्जना भएको छ ।’
यो क्षेत्रमा उत्पादन भएको स्ट्रबेरी ८० प्रतिशत भारतमा निर्यात हुन्थ्यो । तामाङले भने, ‘अहिले नेपालमा पनि माग बढेका कारण ५० प्रतिशत मात्रै भारतमा जान्छ ।’
नुवाकोट र काठमाण्डौको सिमाना ठूलोखोला देखि काउलेथान क्षेत्र स्ट्रबेरी जोनका रुपमा प्रख्यात छ । अन्य खेतीको भन्दा दोब्बर, तेब्बर आम्दानी हुने भएकोले स्ट्रबेरी खेतीमा आकर्षण बढेको तामाङले बताए ।
स्ट्रबेरी एकपटक रोपेपछि ६, ७ महिनासम्म निरन्तर फल दिन्छ । कात्तिकदेखी फल्न सुरु हुने स्ट्रबेरीले बैशाखको दोस्रो सातासम्म उत्पादन दिन्छ । ककनीमा २०४६ सालदेखि स्ट्रबेरी खेती गर्न थालिएको हो । ककनी पर्यटकीय नामले परिचित ठाउँ पनि हो ।
केन्द्रिय राजधानी काठमाण्डौबाट १२ किलो मिटरमा रहेको ककनी सुन्दर, रमणीय छ । काठमाडाैँ लगायतका धैरै ठाउँका मान्छे घुम्न जानेको लर्को भेटिन्छ । प्रायः शनिबारका दिन स्कूल, कलेजका विद्यार्थीहरु पिकनिक जाने ठाउँको रुपमा पनि ककनी परिचित छ ।
तर ककनी विकासको गतिमा पछाडि नै छ । त्यहाँ विकासका पूर्वाधारहरुले गति लिन नसकेको भने पक्कै हो । नुवाकोटबाट प्रतिनिधित्व गरेर मन्त्री तथा संघीय सासंदहरु प्रदेश सांसद एंव मन्त्रीहरुले पनि ककनीलाई बेबस्ता गरेको ककनी बासीको बुझाई रहेको छ ।
ककनी गाउँपालिकाले पनि ककनीको विकास र समृद्धिका लागि गुरुयोजना बनाउन सकेको छैन । न प्रदेश सरकारले न संघीय सरकारले चासो दिएको छ । आज ककनी ओझेलमा परेको छ । ककनीलाई पर्यटकीय रुपमा विकास गर्न सकेको भए यहाँका मानिसहरुको जीवनस्तर अझ माथि उठ्थ्यो । व्यापार, व्यवसायले फड्को मार्थ्याे । आर्थिक उपार्जनमा उल्लेखनीय रुपमा राम्रो हुन्थ्यो । ककनीलाई पर्यटकीय रुपमा विकास गरी स्ट्रबेरी हब बनाउन सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।