बाजुरा । गाँउमै रोजगारीको अवसर बढाउने अवधारणासहित बाजुराको स्वामीकार्तिक खापर गाँउपालिका–३ मा स्याउ खेती सुरु गरिएको छ । पालिकाको जोरुमा ४ रोपनी भन्दा बढी जग्गामा हाईडेन्सिटी स्याउको खेती सुरु गरिएको हो । बढ्दो बेरोजगारीको समस्या हटाउन गाँउमा नै उत्पादन सम्भाव्यताको खोजी गरि स्याउ खेती सुरु गरिएको पालिकाको भनाई छ । छोटो समयमै फल लाग्ने, उत्पादन पनि बढी हुने हुनाले पनि किसान यसतर्फ आकर्षित बन्ने अपेक्षा गरिएको छ ।
स्याउ खेतीको सम्भावना बोकेको स्वामीकार्तिक खापर गाउँपालिकाको खापर जोरूमा ४ रोपनी भन्दा बढी पहाडी उच्च भु–भागमा हाईडेन्सिटी स्याउ खेतीको सुरुवात गरिएको छ । पालिका भित्र रहेका युवाहरूलाई गाउँमै रोजगारी सृजना गर्न उच्च पहाडी भेगमा फल्ने उन्नत जातको स्याउ खेती सञ्चालन गरेको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष मैना देवी जोशीको भनाई छ । हाईडेन्सिटी स्याउ खेतीबाट पालिका भित्र रहेका बेरोजगार युवाहरु लाभांवित हुने र त्यसले पालिको आन्तरिक स्रोतको विकासमा समेत टेवा पुग्ने पालिकाको विश्वास छ ।
गाउँपालिका लेकाली भु–भाग जुकोट, जोरू र जेवाले लगायतका केही स्थान स्याउ खेतीका लागि पकेट क्षेत्रको रुपमा लिइन्छ । यी क्षेत्रहरुमा विगत पाँच वर्षमा पालकिाले आफ्नै फर्म सञ्चालन समेत गरेको छ ।
हिला गाउँमा स्थानीय स्याउ धेरै उत्पादन गरेपनि त्यसले कतै बजार नपाउँदा स्याउ खेती प्रति दिक्दार भएका किसान अहिले फेरि नयाँ स्याउ उत्पादनमा चाँसो बढाउन थालेका छन् । स्थानीयको चासोलाई ध्यानमा राखि वडाले समेत खेतीको योजना अघि सारेको छ ।
पालिकाको नमुना फर्म करिब ४ रोपनी जग्गामा १ हजार भन्दा बढी बोटबाट स्याउ उत्पादन भइरहेको छ । २ हजार भन्दा बढी बोट टर्नेल भित्र बेर्ना उत्पादन भईरहेको बताइएको छ ।
केन्द्रको पहल तथा अनुदानमा बाजुरामा उत्पादन गरेका स्याउ देशका विभिन्न ठाउँमा बिक्री हुन थालेपछि पछिल्लो समय बाजुराका किसानको स्याउ खेतीप्रति आकर्षित बन्दै गएका छन् । पहिले लोकल स्याउ मात्र उत्पादन हुने गरेको बाजुरामा अहिले अन्य विभिन्न जातका स्याउ समेत उत्पादन भइरहेका छन् ।