स्याङ्जामा मेसु कहिले पठाउने ?

स्याङ्जामा मेसु कहिले पठाउने ?

स्याङ्जा । जिल्ला अस्पताल स्याङ्जा प्रमुखविहीन भएको १० महिना पुग्यो । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट नभएको झण्डै वर्ष दिन पुग्न लाग्यो ।

गएको कात्तिकमै मेडिकल सुपरिटेन्डेन्ट डा. रमेश आचार्यको लमजुङ सरुवा भएर गएपछि अस्पताल प्रमुखविहीन बनेको हो । अहिले यही अस्पतालमा कार्यरत वरिष्ठ स्टाफ नर्स कृष्ण कार्कीले निमित्त प्रमुख भै नियमित कामकाज गर्दै आएकी छन् ।

अस्पताल प्रमुख र ३ जना मेडिकल अफिसरसहित २५ जनाको स्थायी दरबन्दी हो । प्रदेश र अस्पताल व्यवस्थापन समितिसहित गरी यहाँ ७८ जना कार्यरत रहेकोमा असार मसान्तसँगै प्रदेशअन्तर्गतका १६ जना करारमा सेवारत कर्मचारीको समेत म्याद सकिएको छ । उनीहरुको सेवा टुटेको छ । अहिले अस्पताल प्रमुखसहित १७ जना स्वास्थ्यकर्मीविहीन बनेको छ ।

‘वर्ष दिन पुग्न लाग्दासम्म अस्पतालले प्रमुख नपठाउँदा यहाँबाट उपलब्ध सेवा सुविधा र अस्पताल व्यवस्थापनमा समेत नराम्ररी प्रभाव परेको छ,’ अस्पताल विकास समिति अध्यक्ष इन्द्रबहादुर गोदार भन्छन्, ‘अस्पतालका लागि आवश्यक भएरै राखिएका प्रदेशअन्तर्गत १६ जना करारका कर्मचारी सेवाका निरन्तरता वा नयाँ प्रक्रियाबाट कर्मचारी उपलब्ध गराउन समेत प्रदेश सरकारसँग अनुरोध गरेका छौं ।’

अस्पताल व्यवस्थापन समिति अध्यक्ष लगायतको समूह पटक पटक गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयअन्तर्गत राखिएको छ ।

अस्पतालले पछिल्लो समय गुणस्तरीय सेवा उपलब्ध गराएको छ । बहिरंग, अन्तरंगसहितका, शल्यक्रिया, मृर्गौला डायलायसिस, मातृशिशु तथा प्रसुति सेवा, आँखा, दाँत, भिडियो एक्सरे अर्थात् रेडियोलोजी, स्वास्थ्य बिमा, अपांगता सहायता कक्ष र एकद्वार संकट व्यवस्थापन र चौबिसै घण्टा आकस्मिक सुबिधा लगायतका सेवा उपलब्ध गराउँदै आएको निमित्त प्रमुख कृष्ण कार्कीले जानकारी दिइन् ।

२०५७ सालमा स्थापना गरिएको हो । २५ शैया स्वीकृत पाएको अस्पतालले समितिमार्फत ५६ शैयाको सेवासुविधा उपलब्ध गराउँदै गराउँदै आएको छ । अस्पतालबाट दैनिक डेढ सयदेखि २ सय जनाले प्रत्यक्ष सेवा लिने गरेका छन् । ‘गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री र सचिवलाई पटक/पटक जानकारी गराउँदा विशेषज्ञसहितको प्रमुख छिट्टै पठाउने आश्वासनमात्र पाउने गरेको अध्यक्ष गोदारको भनाइ छ ।

आर्थिक अवस्था बलियो र सृदृढ हुनेका लागि सुविधासम्पन्न अस्पताल बनेका छन् तर आर्थिक अवस्था कमजोर भएका व्यक्तिका लागि लक्षित गर्दै बनाइएका सरकारी अस्पताल माथि सरोकारवालाले समयमै ध्यान दिनुपर्छ समाजसेवी नवराज सुवेदी बताउँछन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top