स्वास्थ्य सेवा विभागकै कर्मचारीले  पाएनन् तलव, गुनासो लिएर न्यूज २४ कार्यालयमा (भिडियो)

स्वास्थ्य सेवा विभागकै कर्मचारीले पाएनन् तलव, गुनासो लिएर न्यूज २४ कार्यालयमा (भिडियो)

काठमाडौं । कोराना भाइरसको आतंकले मानिसहरुको निद्रा बिथोलेको बेला जोखिम उठाएर धेरै स्वास्थ्यकर्मीले काम गरे । स्वास्थ्य सेवा विभागले छोटो समयका लागि केही स्वास्थ्यकर्मी करारमा पनि राखेको रहेछ । उनीहरुबाट विभागले केही समय काम लियो ।

करार सम्झौता सकिएपछि उनीहरुको जागिर पनि सकियो । करार सकिएपछि रोजगारी जान्छ, यो अनौठो भएन । तर करार हुँदासम्म गरेको कामको ज्याला त पाउनु पर्ने हो नी हैन र ?

केही स्वास्थ्यकर्मीले अहिले पनि जनही १ लाख भन्दा बढी तलब सरकारबाट पाउनु पर्ने छ । तर त्यो पैसा विभागले दिएको छैन ।

नौ महिनासम्म पनि तलब नपाएपछि पीडितहरु हाम्रो कार्यालयमा आएका छन् । कोभिड १९ को महामारीमा जोखिममा काम गरेका धेरै स्वास्थयकर्मीले नौ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।

स्वास्थ्य सेवा विभागबाट करारमा नियुक्त भएका १५ स्वास्थ्यकर्मीले नौ महिनादेखि तलव नपाएको र पटक पटक आग्रह गर्दा समेत नियुक्त गर्ने निकायले वास्ता नगरेको उनीहरुले बताएका छन् ।

कोभिड महामारीको समयमा अग्रपंक्तिमा रहेर सेवा गरेका स्वास्थ्यकर्मीलाई नियमानुसार दिनु पर्ने तलव अझै नदिइएको विषय अपत्यारिलो लाग्छ । तर कर्मचारीरु स प्रमाण आफूहरुपीडित भएको दावी गरिरहेका छन् ।

तलव नपाउने मध्ये नर्सिङ तर्फका पाँच जनाले तीन महिनाको, ल्याब तर्फका १० जनाले ४ महिनाको तलव पाएका छैनन् । नौ महिनादेखि यो तलव माग गर्दै उनीहरु विभाग धाइरहेका छन् । तर विभागले आश्वासन मात्रै दिएर फर्काउँदै आएको छ ।

महामारीमा विभिन्न स्थानमा उनीहरुलाई खटाइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, उपत्यकाबाहिरका जिल्लाहरु आदिमा उनीहरुलाई कामलगाएएको थियो ।

कोभिड विरुद्धको खोप लगाउने, पिसिआर परिक्षण, एन्टिेजन परिक्षण आदि काम उनीहरुले गर्नु पथ्र्यो ।

तत्कालिन समयमा कोरोनाका नाममा आतंक फैलिरहँदा यी स्वास्थ्यकर्मीहरुले चाहिँ जनताको सेवा गरेका थिए । कोरोना परिक्षणका लागि विरामीको स्वाब संकलन गर्नेहरु सबैभन्दा बढी जोखिममा पर्ने गर्छन् ।

यस्तो जोखिम उठाएर केहीले तीन वर्षसम्म पनि काम गरे । करारको म्याद सकिएपछि उनीहरुलाई विभागले कामबाट विदा दियो । तर काम गरेको तलव चाहिँ दिएन ।

पाँचौ तहमा नियुक्त भएका यी स्वास्थ्यकर्मीहरु प्रत्येकले एक लाखभन्दा बढी रकम लिन बाँकी छ । गएको असोजदेखि माघ महिनासम्मको तलबका लागि उनीहरु पटक पटक विभाग धाए । तर रकम चाहिँ पाएनन् ।

करारमा नियुक्त भएका कर्मचारीको सेवा अवधि थप्ने र समायोजन गर्ने भनिए पनि यी कर्मचारीहरुले प्रोत्साहन भत्ता, अतिरिक्त काम गरेको भत्ता, पोशाक भत्ताहरु नपाएको गुनासो गरेका छन् ।

कोरोना महामारीमा काम गरेको नियुक्तीपत्र, हाजिरी विवरण लगायतका प्रमाणहरु बोकेर उनीहरु न्युज २४ को कार्यलयमा आइ पुगेका छन् ।

कोभिड महामारी नेपालमा सुरु भइरहँदा जनमानसमा आतंककै स्थिति थियो । त्यो बेला कोरोना बारे धेरै तथ्य थाहा पनि थिएन ।

उपचारका पद्धतिहरु विकास भइसकेका थिएनन् । खोप समेत नहुँदाको अवस्थामा पनि स्वास्थ्यकर्मीहरुले काम गरे ।

अस्पतालमा वा कार्यक्षेत्रमा संक्रमितसँग क्लोज कन्ट्याक्टमा रहनु पर्ने कारणले उनीहरु परिवारसँगै दूरी कायम गरेर पनि काम गरे ।

कतिपयलाई काम नगर्न घरपरिवारबाट दबाब पनि आउँथ्यो । तर पनि रात दिन नभनी काम गरे ।

यी कर्मचारीहरुलाई स्वास्थय सेवा विभागले नियुक्त गरेको भए पनि उनीहरुप्रतिको जिम्मेवारी चाहिँ विभागले लिएको देखिन्न ।

विभागका अधिकारीहरुले स्वास्थ्य मन्त्रालय जान भन्ने गरेका छन् ।

यता, स्वास्थ्य सेवा विभागले भने स्वास्थ्यकर्मीको तलबवापतको रकम दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

मन्त्रालयमा फाईल पठाइसकेकोले यो विषय प्रक्रियामै रहेको विभागले जनाएको छ ।

बजेट पास भएपछि उनीहरुको रकम निकासा हुने जवाफ विभाका अधिकारीहरुले दिएका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *