हतारमा एमालेसँग एकता गरेर पछुताएका प्रचण्डले हतारमै बनाए मोर्चा

हतारमा एमालेसँग एकता गरेर पछुताएका प्रचण्डले हतारमै बनाए मोर्चा

युद्धस्तरमा राहत र उद्धारको काम हुन्छ : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युद्धस्तरमा राहत र उद्धारको काम गर्ने बताएका छन् । सोमबार सेनाको हेलिकोप्टरबाट बाढीग्रस्त क्षेत्रको अवलोकनमा पुगेका प्रधानमन्त्री प्रचण्डले बाढी र पहिरोले संखुवासभा, ताप्लेजुङ र पाँचथरमा ठूलो क्षति पुगेको उल्लेख गर्दै उद्धार र राहतको काममा कुनै कसर बाँकी नराख्ने बताए । प्रचण्डले बाढीपहिरो प्रभावित र विस्थापितलाई पुनःस्थापना गर्ने, घरबारविहीनको तत्काल स्थानान्तरण र आवासको व्यवस्था मिलाउने पनि बताए । उनले तत्कालै बाढीले बगाएका पक्की पुलमा बेलिब्रिज बनाउने र आवतजावत सहज बनाउने बताएका छन् । तीन वटै जिल्लामा भएको क्षतिको विवरण हेरेर सरकारले नयाँ कार्यक्रम ल्याउने पनि उनको भनाइ छ । अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।

समाजवादी मोर्चा घोषणा

सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र संसद बाहिर रहेको दल नेपाल कम्युनिष्ट पार्टी सम्मिलित समाजवादी मोर्चा नेपालको घोषणा भएको छ । चार पार्टीका शीर्ष नेताहरु पुष्पकमल दाहाल ’प्रचण्ड’, माधव नेपाल, उपेन्द्र यादव र नेत्रविक्रम चन्द ’विप्लव’ले मोर्चाको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । मोर्चा सञ्चालन गर्न तत्कालका लागि दुई तहको संरचना बनाउने तयारी छ । शीर्ष नेताहरू रहने संयोजन समिति र प्रत्येक राजनीतिक दलबाट प्रतिनिधित्व हुने गरी सचिवालय गठनको तयारी छ । प्रतिनिधिसभामा समाजवादी मोर्चाका ५४ सांसद हुनेछन्, जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन । मोर्चामा समान विचार भएका अन्य दल थपिने बाटो खुला राखिएकाले संख्या बढ्न सक्ने नेताहरूले बताएका छन् ।

हतारमा एमालेसँग एकता गर्दा पछुताउनु पर्यो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ वर्षअघि एमाले र माओवादीबीचको एकता हतारोमा गरिएको टिप्पणी गरेका छन् । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले २०७४ मा एमाले र माओवादीबीच पार्टी एकता घोषणा गरेको स्मरण गरे । राष्ट्रिय सभा गृहको यही हलमा ठूलो भरोसा र अपेक्षाका साथ नेकपा गठनको घोषणा गरेको भएपनि त्यो पार्टी बचाउन नसकेको भन्दै उनले दुख व्यक्त गरेका छन् । त्यतिबेला नै समाजवादी मोर्चा भनेर मोर्चाबाट काम सुरु गरेर विचार राजनीति, संगठन, कार्यशैलीमा एकरुपता कायम गरेपछि एकतामा पुग्ने उद्देश्य राखेको भए हामी सफल हुन्थ्यौं कि भनेर सोच्नुपर्ने बेला आएको उनको तर्क छ । निश्चित विचार र उद्देश्यका साथ मोर्चा बनाउन सफल भएको र फड्किएर पार्टी एकता गर्दा दुर्घटना भएको उनले स्मरण गरे । उनले अहिले बनेको समाजवादी मोर्चामा आवद्ध सबै दलको हैसियत स्वतन्त्र हुने पनि बताएका छन्। यस्तै, अहिले पनि परिवर्तन उल्ट्याउने खेल भइरहेको दाबी गरेका छन् ।

समाजवादी मोर्चा : विप्लवदेखि माधवले के भने ?

समाजवादी मोर्चा घोषणा कार्यक्रममा खुशी देखिएका चार पार्टीका शीर्ष नेताहरुले देशलाई समृद्धितर्फ लैजाने बाटो खुला हुने अपेक्षा गरेका छन् । मोर्चा घोषणाको क्रममा बोल्दै नेकपामा महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ले पश्वागामी शक्तिलाई फाइदा हुने गरि कुनै काम गर्न नहुने बताएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले मोर्चा घोषणाबाट कोहि तर्सिनु नपर्ने दाबी गर्दै विभिन्न टिप्पणी गरेका छन् । यस्तै, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मोर्चा सत्ता टिकाउने अस्त्र बन्न नहुनेमा सचेत गराएका छन् । यता नेकपा एसकै अध्यक्ष माधव नेपालले पनि ओलीलाई जवाफ फर्काएका छन् । ओलीले मोर्चाले कांग्रेस तर्साउने र एमालेको मुकाबिला गर्न गठन भएको टिप्पणी गरेका थिए । त्यसको जवाफमा नेपालले कसैलाई तर्साउन वा मुकाविला गर्न मोर्चा नबनेको जिकिर गरेका छन् ।

बदलिएको कांग्रेसले मात्रै मुलुक बदल्न सक्छ : गगन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बदलिएको कांग्रेसले मात्रै मुलुक बदल्न सक्ने बताएका छन् । सोमवार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । देश बदल्नको लागि सबै भन्दा पहिला नेपाली काँग्रेस बदल्न आवश्यक रहेको बताए । नेपाली कांग्रेस अहिले जसरी चलेको छ त्यसरी नै चल्ने हो भन्ने ठानेमा कांग्रेस दुर्घटनामा जाने तर्क राखेका छन् । कांग्रेसलाई दुर्घटनाबाट बचाउनको लागि नेपाली कांग्रेसलाई फरक ढङ्गमा चलाउनु पर्ने गगनको दाबी छ । देश अफ्ठ्यारोमा भएको बेला कांग्रेसले देशलाई ठिक ढङ्गले सम्हाल्न सक्नुपर्ने बताए । उनले यस्तो बेलामा काँग्रेसले मुलुकलाई सम्हाल्न नसके मुलुक थप १५ वर्ष पछि धकेलिने जिकिर गरेका छन् ।

भारतका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउन माग

भारतका लागि नेपाली राजदूत शंकर शर्माले दिएको अभिव्यक्ति नेपाल र नेपालीको हीतविपरित रहेको भन्दै प्रतिनिधिसभा सदस्य प्रेम सुवालले आपत्ति जनाएका छन् । भारतीय राजदूतले नेपालमा भारतमात्रै देखिएको र अखण्ड भारतको नक्साले कुनै प्रभाव नपर्ने भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउदै उनले फिर्ता बोलाएर स्पष्टीकरण सोध्न माग गरेका छन् । ’भारतका लागि नेपाली राजदूत शंकर शर्माले नेपालमा चीन कता छ र ? जताततै भारत नै देख्छु, चीनको बीआरआईले लोन दिन्छ, सर्त पनि राम्रो छैन, ’डेब्ट ट्र्याप’ मा पार्छन् भनेको र अखण्ड भारतको नक्साले कुनै इफेक्ट गर्ने कुरा रहँदैन भनेर बताएको भनेर नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत बोल्नुभयो,’ सुवालले भनेका छन् । उनले राजदूतले प्रधानमन्त्री र परराष्ट्रमन्तरीभन्दा पनि अघि बढेर अभिव्यक्ति दिएको तर्क राखेका छन् । यस्तै, सुवालले शर्माले कुटनीतिक मर्यादाको पालना नगरेको आरोप समेत लगाएका छन् ।

भारतलाई खुशी बनाउन नागरिता विधेयक : लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नागरिकताको विषयमा सत्तापक्ष आफैंले राजनीतिकरण गरिरहेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नागरिकताको समस्या समाधान गर्ने भए तत्काल नागरिकता विधेयक संसदमा ल्याउन पनि सरकारलाई चुनौति दिएका छन् । त्यसको कन्टेन्टमा छलफल गरेर फाष्ट ट्रयाकबाट सो विधेयक पारित गर्न आफूहरुको कुनै आपत्ति नरहेको अध्यक्ष लिङदेनको भनाई थियो । उनले सत्तापक्षले नेपाली नागरिकलाई नागरिकता नदिने काम प्रतिपक्ष दलहरुबाट भएझैं गरेर गलत प्रचार गरिरहेको भन्दै आपत्ति जनाए । अध्यक्ष लिङदेनले भारतलाई खुशी बनाउन र नागरिकता नपाएका नागरिकहरुलाई पनि खुशी बनाउने सरकारले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण गराएपनि पीडितलाई नागरिकता दिने नियत नभएको नदेखिएको पटकपटक दोहो¥याए । अध्यक्ष लिङदेनले नागरिकताको विषयमा राजनीतिकरण नगर्न सत्तारुढ दलहरुलाई आग्रह गर्दै त्यो समस्या समाधान हुने गरी विधेयक संसदमा ल्याउन सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

बजेट संशोधन नभए पास हुन दिनौं : सीके राउत

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सांसदहरुको मागअनुसार बजेट संशोधन नभए बजेट पास हुन नदिने चेतावनी दिएका छन् । सोमवार प्रतिनिधि सभा अन्तरर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै अध्यक्ष सीकेल सांसदका मागहरु सम्बोधन हुनेगरी बजेट सशोधन नभए सत्तापक्षका सांसदहरुले नै बजेट पास हुन नदिने चोवनी दएका हुन् । उनले पूर्वाधार विकास समितिले सुझावसहित बजेट संशोधनको प्रश्ताव लैजान माग गरे । उनले सुझावसहित बजेट संशोधनको प्रश्ताव कार्यान्वय नभएपनि सरकारले ल्याएको बजेट संशोधनको आवश्यकता रहेको बताए । एक जना मन्त्रीले मात्रै बजेट बनाउने भए २७५ सांसदहरु आवश्यकता नभएको भन्दै निर्वाचित भएर आएका सांसदहरुको कुरा सरकारले सुन्नुपर्ने जिकिर गरे । उनले सरकारले सांसदहरुका कुरा नसुने बजेटलाई पारित हुन नदिने अधिकार सांसदहरुलाई रहेको भन्दै सत्तापक्ष र प्रतिपक्षका संसदहरुले आफ्नो अधिकार उपयोग गर्न आग्रह नै गरेका छन् ।

बजेटमा एकरुपता देखिएन : प्रदीप पौडेल

सत्तारुढ दलकै सांसहरुले बजेटमा एकरुपता नदेखिएको भन्दै विरोध जनाइरहेका छन्। सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका सांसदहरुले समेत बजेटमाथि विरोध जनाउदै आएका छन् । सोमवार प्रतिनिधि सभा अन्तरर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पौडेलले निश्चित योजना समयमा नै सम्पन्न गर्नेगरी र पुराना योजना सबै सक्नेगरी बजेट आउनुपर्ने भएपनि त्यो अनुसार बजेटमा एकरुपता नदेखिएको बताएका हुन् । सरकारले यो वर्ष पनि बजेट कनिका छरे जस्तै गरी बजेट छरेको उनको आरोप छ ।सरकारले बजेट मन्त्रालय वा जिल्लागत रुपमा योजना छनोट गर्दा एकरुपता कायम नगरेकाले अहिले समस्या देखिएको सांसद पौडेलको तर्क छ । सांसद पौडेलले सरकारसँग पैसा कम भएकाले नयाँ योजना ल्याउनसक्ने स्थिति नभएको, पुराना आयोजनाहरुलाई सम्पन्न गर्न र सरकारको दायित्व पूरा गर्नुपर्ने तस्विर मन्त्रालयको बजेटमा आउन नसकेको पनि दोहो¥याएका छन् ।

न्याय माग्दा उपप्राध्यापक पक्राउ

त्रिविका उपप्रध्यापकलाई आक्रमण गर्ने नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेपछि उपप्राध्यापक प्रेम चलाउने न्याय नपाएको भन्दै भावुक बनेका छन् । आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयबिरुद्ध धर्ना दिन जिल्ला अदालत, काठमाडौं पुगेका उपप्राध्यापक चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ । सोमवार अदालतभित्र होहल्ला र नाराजुलुस गरेको भन्दै प्रहरीले चलाउनेलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नुअघि उनले आफूले यो मुद्दामा ५ वर्ष चक्कर काटिसकेको र अझै न्याय नपाएको दुखेसो पोखेका छन् । देशमा न्याय मरेको र मानवता हराएको बताएका उनले आफूले बन्द इजलास र सरकारबाट न्याय नपाएको गुनासो गरेका छन् । आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रिपरिषदले निर्णय गरेपछिको आफूले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उनको तर्क छ । सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मारेको आरोप उनको छ । अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिनु राजनीतिको अपराधीकरण भएको भन्दै प्रेमले दुखेसो पोखेका छन् । तर, उनलाई प्रहरीले एकजना अभियान्ताको रोहबरमा छाडेको छ ।

आदिपुरुष देशभर बन्द, हलवालाहरु अदालत जाने तयारी

शान्ति सुरक्षाको कारण देखाउँदै काठमाडौं मात्रै नभइ देशभर ’आदिपुरुष’को प्रदर्शन स्थगन गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सोमबारदेखि नगर प्रहरी खटाएरै काठमाडौंमा फिल्मको प्रदर्शन रोक्ने तयारी गरेसँगै देशभर फिल्मको प्रदर्शन स्थगनको श्रृङ्खला नै चल्न थालेपछि फिल्मका वितरक मनोज राठीले प्रदर्शन रोक्ने निर्णय लिएका हुन् । राठीले चलचित्र रोकिदा सतप्रतिशत घाटा भएको बताएका छन् । तर, हलहरुको छाता संगठन चलचित्र संघले भने कानुनी बाटो अपनाउने तयारी थालेको छ । सेन्सर भइसकेको फिल्मलाई यसरी रोक्ने काम कसको कार्यक्षेत्रमा पर्छ भन्ने कुरा नै नबुझिएको संघको तर्क छ । संघीय सरकारले अनुमति दिइसकेको फिल्म अब हामीले प्रदर्शन गर्न पाउने कि नपाउने ? या सबैसँग अनुमति लिदै हिड्नुपर्ने हो ? छिनोफानो गरिदिनु प¥यो भन्दै उनीहरु अदालत जाने तयारी गरेका हुन् । सेन्सर बोर्डले प्रदर्शन अनुमति दिइसकेको चलचित्रलाई प्रदर्शन रोक्न सरकारी निकाय नै लागेपछि उनीहरुले कानूनी बाटो समात्ने भएका हुन् ।

गोलभेडा फालेको विषय छानविन गर्न सरकारलाई निर्देशन

राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिले कालीमाटी तरकारी बजारमा आइतबार सडकमा गोलभेँडा फालेको घटना छानविन गरी प्रतिवेदन दिन सरकारलाई निर्देशन दिएको छ । समिति सभापति प्रकाश पन्थको अध्यक्षतामा बसेको बैठकले गोलभेँडा फालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै तरकारी किन फाल्नु परेको हो भनि गृह र कृषि तथा पशुपक्षी मन्त्रालयसँग जानकारी माग गर्ने निर्णय गरेको हो । बैठकको निर्णयमा भनिएको छ, “यो किसान, उपभोक्ता र व्यवसायीको हितमा छ कि छैन ?, घटना प्रचलित कानुनबमोजिम दण्डनीय हो कि होइन ?’ बैठकले उक्त घटनामा दोषी भए कानुनी कारबाही गरी जानकारी गराउन पनि भनेको छ । बजार अभाव र उत्पादन लागतको तुलनामा गोलभेँडाको बिक्री मूल्य अत्यन्त न्यून रहेको जनाउँदै किसानको नाममा विचौलिया व्यवसायीले गोलभेँडा सडकमा नष्ट गरेको उपभोक्ता पक्षको आरोप छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *