
काठमाडौं । प्रधानमन्त्री एवं ः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी पार्टीजस्तो नभएको बताएका छन् । बुधबारबाट काठमाडौंमा शुरु भएको पार्टी केन्द्रिय समितिको चौथो बैठक शुभारम्भ गर्दै उनले माओवादी केन्द्र पार्टीजस्तो नभएको स्वीकार गरेका हुन् ।
अध्यक्ष दाहालले विगतदेखि नै बेलाबेलामा आफूले माओवादी केन्द्र पार्टीजस्तो नभएको कुरा भन्दै आएको स्मरण गराउँदै केन्द्रिय समिति बैठकले पार्टी निर्माण र पुनर्निर्माणको ऐतिहासिक अभियान थालनी गर्नुपर्ने समेत बताए । नेता, कार्यकर्ताको विशाल पंक्ति पार्टीमा रहेकाले यो बैठकले पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।
अध्यक्ष दाहालले पार्टी पुननिर्माणका लागि ऐतिहासिक कदम चाल्नका लागि केन्द्रिय समितिका नेताहरुले गम्भिरतापूर्वक जिम्मेवारी भएर अनुशासित ढंगले बहस र छलफललाई अघि बढाउने समेत बताए । पछिल्लो चरणमा हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भइसकेपछि सरकारले अगाडि सारेका कार्यक्रमहरु, लिएका पहलकदमीहरु र गरिएका गतिविधिहरुबाट एउटा नयाँ आशा जनतामा पलाएको दाबी गर्दै अध्यक्ष दाहालले त्यसलाई पार्टी निर्माणको अभियानमा जोडेर अघि बढ्नुपर्ने आवश्यक्ता समेत औंल्याए ।
उनले भने, ‘यो बैठक हामी देशको विशिष्ट राजनीतिक परिस्थितिको बीचमा हामी बस्दैछौं । यसो त यो बैठक यसअघि नै बस्नुपर्ने थियो । पक्कै पनि यसमा बिलम्व हुुन गएको छ । देशका राजनीतिक समीकरण, उतारचढाव पनि एकहदसम्म जिम्मेवार छन् भने हाम्रो आफ्नै आन्तरिक तयारीलाई पूर्णता दिन विलम्ब हुनु पनि एउटा कारण भएको छ । ढिलै भएपनि हामी यो केन्द्रिय समिति बैठकमा उपस्थित भएका छौं । अहिले देशको राजनीति जुन बिन्दुमा छ । र, जनताले हाम्रो पार्टीबाट र आन्दोलनबाट जेजस्ता आशा र अपेक्षा गरेका छन् । पछिल्लो चरणमा हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भइसकेपछि सरकारले अगाडि सारेका कार्यक्रमहरु, लिएका पहलकदमीहरु र गरिएका गतिविधिहरुबाट एउटा नयाँ आशा जनतामा पलाएको छ । र, हाम्रो केन्द्रिय समितिको यो बैठकले जनतामा उत्पन्न भएको एउटा आशा र भरोसाको स्थितिलाई संगठनमा रुपान्तरण गर्ने, जनतासँगको हाम्रो सम्बन्धलाई अझ सुदृढ गर्ने, अभियानमा बदल्नु छ ।’
अध्यक्ष दाहालले समाजवाद स्थापना गर्ने उद्देश्यका साथ समाजवादी मोर्चा निर्माण गरिएकाले बैठकले त्यसलाई अझ व्यवस्थित ढंगले अघि बढाउन पनि ठोस धारणा तय गर्ने अपेक्षा समेत आफूले गरेको बताए ।