हुँदै नभएको वडामा सरकारले छुट्यायो बजेट, नेपाल–यूएई श्रम सम्झौता नवीकरण (अर्थ रफ्तार)

काठमाडौं । चितवनको माडी नगरपालिकामा नौ वडा मात्रै रहेका छन् । तर, संघीय सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेटमा वडा नं १० लाई बजेट विनियोजन गरेको छ ।

माडी नगरपालिका वडा नम्बर १० तोकेर अर्थ मन्त्रालयले सर्शत अनुदानको बजेट पठाएको नगरपालिकाले जनाएको छ । माडीमा अन्तर सरकारी वित्तीय रकम ४७ करोड ५१ लाख रुपैयाँ बजेट आएको छ ।

त्यसमध्ये समानिकरण अनुदान रु १२ करोड १५ लाख, नेपाल सरकारको समानिकरण न्यूनतम अनुदान तीन करोड ५० लाख रुपैयाँ, समानिकरण सुत्रमा आधारित अनुदान आठ करोड १४ लाख रुपैयाँ, समानिकरण कार्यसम्पादनमा आधारित अनुदान ५१ लाख रुपैयाँ रहेको छ ।

यस्तै ससर्त अनुदान ३० करोड ३६ लाख रुपैयाँ रहेको छ । सङ्घीय सरकारले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, पुर्वाधार, सामाजिक विकास लगायतका क्षेत्रमा बजेट तोकेर पठाएको छ ।

कोशी सरकारको प्राथमिकतामा कृषि र रोजगारी

कोशी प्रदेश सरकारले कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङ्ले आउँदो आर्थिक वर्ष २०८०\०८१ को बजेटको नीति तथा कार्यक्रम प्रदेशसभामा बुधबार प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा कृषि, उद्योग, रोजगारी क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । रोजगारी उल्लेख्य वृद्धि गर्न स्थानीय तहसँगको साझेदारीलाई प्राथमिकता दिइने, प्रदेश गौरवको आयोजना पहिचान गरिने, गरिबी निवारणका उपायाको अध्ययन अनुसन्धान गरिनेलगायत विषय नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै कार्यक्रममा प्रदेशको लगानी सम्मेलन आयोजना गर्ने, कानून कार्यान्वयनको अनुगमन तथा मूल्यांकन गरिने, प्रदेश लोकसेवा आयोगको रणनीतिक योजना कार्यान्वयनमा ल्याउने लगायतका विषय उल्लेख गरिएको छ ।

अल्पमतमा परेको एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरे पनि बजेट भने अध्यादेशमार्फत् ल्याउने तयारी गरेको हो ।

नेपाल पे क्युआरमा ३ लाखभन्दा बढी मर्चेन्ट आबद्ध

बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुमार्फत नेपाल पे क्युआरमा ३ लाखभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन् । छोटो अन्तरालमा ३ लाखभन्दा बढी मर्चेन्टहरु क्युआरमा आबद्ध गरिनुले नेपालमा क्युआर सम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवद्र्घनमा थप मद्दत पुग्ने विश्वास गरिएको कम्पनीले जनाएको छ ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्यूआर सञ्चालनमा ल्याइएको हो ।

क्यूआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पे क्यूआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ ।

हाल २३ बैंक वित्तीय संस्था तथा ३ भुक्तानी सेवा प्रदायक मार्फत व्यावसायिक ग्राहकहरु नेपाल पे क्यूआरमा आबद्ध हुन सक्दछन् भने २१ बैंक वित्तीय संस्था तथा ६ भुक्तानी सेवा प्रदायकका वालेटहरुमार्फत स्क्यान एण्ड पेको सुविधा उपलब्ध रहेको छ ।

पाँच महिनापछि ५ अर्ब बढीको कारोबार

बुधवार शेयर कारोबार ५ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबारको कारोबार रकम ५ महीना यताकै सर्वाधिक हो । यसअघि गत पुस २८ गते रू. ५ अर्ब ४७ करोड बराबरको शेयर कारोबार भएको थियो ।

पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज हुन थालेसँगै शेयर बजारमा सकारात्मक प्रभाव परेका हो । बुधवार नेप्से परिसूचक शून्य दशमलव ८१ प्रतिशत अर्थात् १६ दशमलव ४२ अंक बढेको छ ।

नेप्से परिसूचक २ हजार ३७ दशमलव ०६ विन्दुमा पुगेको हो । कारोबारमा आएका २ सय ७५ धितोपत्रको १ करोड २५ लाख ६१ हजार ४ सय ४० कित्ता शेयर ७९ हजार ४ सय ६१ पटकमा रू. ५ अर्बभन्दा बढीको कारोबार भएको छ ।

नेपाल–यूएई श्रम सम्झौता नवीकरण

शून्य लागतमा श्रमिक जान पाउने गरी नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच भएको श्रम सम्झौता बुधबार नवीकरण भएको छ । नेपाल र यूएईका उच्च श्रम अधिकारीहरुबीच काठमाडौंमा भएको उच्चस्तरीय संयुक्त समितिको बैठकले श्रम सम्झौता नवीकरण गरेको हो ।

संयुक्त बैठकको नेपालको तर्फबाट श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेल र यूएईको तर्फबाट समकक्षी अब्दुल्लह अली अलनुयमीले नैतिक भर्ना प्रक्रियालाई नै प्रोत्साहन गर्ने गरी श्रम सम्झौता नवीकरण गरेका हुन ।

बुधबारको बैठकमा यूएई पक्षले श्रमिक रोजगारविहीन भएमा तीन महिनासम्मको बेरोजगार भत्ता पाउने गरी श्रमिकको अनिवार्य २४ घण्टाको बिमा नीति लागू गरिएकोे छ ।

इम्पेरियो ग्लोबलले लन्च ग-यो नयाँ फिचरका प्रिन्टर

इम्पेरियो ग्लोबल प्राइभेट लिमिटेडले नेपाली बजारका लागि कलरजेट भर्भ मिनी लिड युभीको प्रिन्टर र सोनिक डिजिटल प्रिन्टर लन्च गरेको छ ।

भर्भ मिनी लिड प्रिन्टर बहुतह मुद्रण प्रविधियुक्त रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसमा पिभिसी तथा एक्रिलिक पाना, धातु, ग्लास, एसिपी डब्लुपिसी, एडिएफ, स्क्रिन प्रिन्टका साथै तीन फिट बाइ पाँच फिटसम्म प्रिन्ट क्षेत्र र ६५ एमएम उचाइ भएको कुनै पनि वस्तुमा छाप्न सकिन्छ ।

यससमा भेरिएबल ड्रप टेक्नोलोजी, बेस्ट इन क्लास स्वचालनजस्ता सुविधायुक्त विशेषता रहेको कम्पनीले जनाएको छ । यसमा भेरिएबल ड्रप टेक्नोलोजी, बेस्ट इन क्लास स्वचालनजस्ता उद्योगका अग्रणी सुविधाहरू छन् ।

हाल २४ लाख ५० हजार रुपैयाँ मूल्य रहेको यो मेसिन लन्च अफरमार्फत बुकिङमा खरिद गर्दा न्यूनतम तीन लाख ४५ हजार बचत हुने कम्पनीले जनाएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top