
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा समस्या समाधानका लागि पहल थाल्ने बताएको विषय महत्वपूर्ण भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले बताएका छन् ।
मोदीले संयुक्त पत्रकार सम्मेलनमा नेपालसँग जोडिएका सीमा समस्या समाधान गर्ने बताएका थिए । मोदीसँग तीन पटक वान टू वान कुराकानी भएपछि वातावरण सहज बनेको प्रचण्डको भनाई छ । मोदीले आफूसँगको भेटवार्तामा सीमा समस्या समाधधान गर्न तयार रहेको बताएपछि स्थिति सहज बनेको प्रचण्डको भनाई थियो ।
समकक्षी मोदीले सीमानाको कुरा हल गर्ने कुरा ऐतिहासिक र महत्त्वपूर्ण भएको प्रचण्डको भनाई थियो । प्रधानमन्त्री प्रचण्डले भने, ’मोदीजीले सिमानाका बारे यसअघि आफ्नो मुखबाट कहिल्यै भन्नु भएको थिएन । यो पनि यो पटकको भिजिटको एउटा ब्रेक थ्रु भयो ।’
सीमा विवादमा मोदीले सहमति जनाएको अर्थमा लिइएपनि यो विषय कहिले टुंगिन्छ भन्ने प्रष्ट भने भइसकेको छैन् ।
कालापानीको सट्टा बंगलादेशसम्मको बाटो पनि हुनसक्छः प्रचण्ड
सीमा विवादबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नयाँ तथ्यको खुलासा गरेका छन् । प्रचण्डले भारतले अतिक्रमण गरेको भू–भाग कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र छाडेर पूर्वी नाकाबाट बंगलादेश जाने बाटो लिन सकिने विकल्प नेपालसँग रहेको बताएका छन् ।
सार्वभौम संसदले नै कालापानी लगाएतका भूमी समेटेर नक्सा जारी गरेपनि यो विवाद कायमै देखिन्छ । भारत भ्रमणको क्रममा सीमा समस्याबारेमा गम्भीर कुरा भएको दाबी गरेका प्रचण्डले भारतिय मिडियाले पनि कालापानीको विषयमा राम्रो कभरेज गरेको दाबी गरेका छन् ।
भारतीय पक्षसँग छलफल गर्दा विभिन्न विकल्पमा कुरा भएको बताएका प्रचण्डले नेपाली विज्ञहरुले पनि भारतले कालापानी क्षेत्र छाड्न नसक्ने हो भने नेपाललाई पूर्वी सीमाबाट सिधा बंगलादेश पुग्ने बाटो दिए हुनेबारे पनि चर्चा गरेको परिप्रेक्षमा त्यो विकल्पबारे पनि सोच्न सकिने बताएका छन् ।
प्रचण्डको चीन भ्रमणबारे माओवादीको यस्तो खुलासा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनलाई जुलाईको अन्तिम वा अगस्टको पहिलो सातातिर भ्रमणको सम्भावना रहेको सन्देश पठाएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमण गएको पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको टोलीमार्फत प्रचण्डले आफ्नो चीन भ्रमणको सन्देश पठाएका हुन् । प्रचण्ड चीन भ्रमणमा नगई भारत भ्रमणमा निस्किन लागेको भन्दै विभिन्न आलोचना र टिप्पणी समेत भएको थियो । तर, प्रचण्डले यसबारे प्रष्टीकरण दिइसकेका छन् ।
प्रधानमन्त्री प्रचण्ड अहिले चारदिने भारत भ्रमणमा छन् । यस्तै, सापकोटाले बीआरआईअन्तर्गतको सस्तो व्याजमा ऋण भनिए पनि त्यसलाई केही योजनाहरुलाई अनुदानमा बनाउन आग्रह गर्न सन्देश पठाएकोे बताए ।
आर्थिक विकास र विकास निर्माणको कुरालाई विशेष जोड दिएर आफूहले कुरा राखेको सापकोटाको भनाइ छ । उनले अन्तर्राष्ट्रिय व्यापारिक नाकालाई व्यवस्थित गरेर सबै नाकालाई खुलाउन आग्रह गर्दा चीन सकारात्मक पाइएको बताए ।
माओवादी केन्द्रका नेताहरुलाई के भन्यो चीनले ?
चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा गएर फर्किएको माओवादी केन्द्रको टिम नेपाल फर्किसकेको छ ।
चीन भ्रमणबाट फर्किएपछि भ्रमणको नेतृत्व गरेका माओवादी केन्द्रका उपाध्यक्ष अग्नीप्रसाद सापकोटाले वाम एकतामा चीनले सद्भाव राखेपनि दबाब नदिएको दाबी गरेका छन् । २० सदस्यीय टोली लिएर चीन पुगेका सापकोटा पूर्वसभामुख समेत हुन् ।
उनले चिनियाँ कम्युनिष्ट पार्टीले छिमेकी नेपालमा कम्युनिष्ट एकता होस भन्ने चाहेको बताएका छन् । नेपालमा वाम एकता भएमा चिनियाँहरुले आफूलाई खुशी लाग्ने वताएका सापकोटाले यसमा कुनै दबाब भने नदिएको प्रष्ट पारेका छन् ।
यसअघि तत्कालीन नेकपा फुट्दा चिनियाँ सक्रियता र फुट रोक्न नसक्दा उनीहरु निराश भएको बताइन्छ । यद्यपी चीनले नेपालका कम्युनिष्ट पार्टीका नेताहरुलाई छुट्टाछुट्टै बोलाएर भ्रमण गराउनेदेखि आफ्ना कुराहरु राख्ने गरेको छ ।
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा मुद्दा
प्रमाणीकरण नभएर अलपत्र परेको विधेयक मन्त्रिपरिषदको सिफारीसमा प्रमाणिकरण गर्नु गैरसंवैधानिक हुने दावी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने र डा. सुरेन्द्र भण्डारीले पेश गरेको रिट निवेदन सर्वोच्च अदालतमा शुक्रबार दर्ता भएको हो ।
रिट निवेदनमाथि आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने क्रममा उदृत गरेका संविधानका प्रावधानहरु विधेयक प्रमाणीकरणसँग सम्बन्धित नभएको, गलत संवैधानिक प्रावधान उदृत गरेर संवैधानिक प्रावधानमाथि प्रहार भएको भन्दै रिट निवेदनमा प्रमाणिकरण गरेको विधेयक तत्काल कार्यान्वयन नगर्नु भनी रोक लगाउन माग गरिएको छ । तर, नागरिकता विधेयक राजनीतिक विषय बन्दा यसबारे पक्ष विपक्षमा चर्को बहस सुरु भएको छ ।
देउवाको कामलाई सहन्न, प्रतिवाद हुन्छः गगन थापा
कांग्रेस सभापति शेरबहादुर देउवालाई अब थप सहेर नबस्ने चेतावनी दिदै आएका कांग्रेस महामन्त्री गगन थापाले पार्टीको परम्परागत गुट सकिएको दाबी गरेका छन् ।
देउवाले पार्टीलाई गलत दिशामा लगेको दाबी गर्दै सार्वजनिक अभिव्यक्तिमा उत्रिएका गगनले कांग्रेस बदल्ने र सुधार गर्न नचाहने गुट रहेको जिकिर गरेका छन् ।
कांग्रेसको विधानले सभापतिलाई निर्णय गर्ने अधिकार दिएर गलत भएको तर्क गरेका उनले टुलु टुलु हेरेर नबस्ने चेतावनी दिएका छन । कांग्रेस सम्मिलित सरकारले एक पछि अर्को गलत क्रियाकलाप गरिरहेको थापाले बताए ।
भोट पाएर पनि विश्वास गुमाएको अवस्थामा कांग्रेस रहेको दाबी गर्दै गगनले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी, नागरिकता विधेयकको प्रमाणीकरण प्रक्रिया, प्रदेशमा मन्त्रालय टुक्राउनु, सांसद विकास कोषको व्युँताउने कार्य गलत भएको बताए ।
ार्टी सभापतिको बलमा सरकारले गरेका निर्णयहरु पछि मात्रै थाहा पाएको उनको तर्क छ ।
कानून नमाने अस्पताललाई कारबाही हुन्छः बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका दश प्रतिशत नागरिकहरुको निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने बताएका छन् । शुक्रबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडिकेयर हस्पिटलको अनुगमन गर्दै मन्त्री बस्नेतले विपन्न नागरिकलाई निःशुल्क उपचार गरेको विवरण मागेका छन् ।
उनले अस्पताल सञ्चालनको स्वीकृति लिँदा गरेको सम्झौता अनुरुप १० प्रतिशत निःशुल्क उपचार गर्न निर्देशन दिए । मन्त्री, सांसद वा नेताहले सिफारिस गर्दा बेड पाउने, नभए नपाउने अवस्थाको अन्त्य गर्नेमा समेत उनको जोड थियो ।
अस्पतालले बेडको विवरण वेबसाइटमै राख्नुपर्ने भन्दै सर्वसाधारणलाई उपचारमा समस्या हुन नदिन अब सरकार प्रतिबद्ध बनेर कारबाही गर्ने चेतावनी दिएका हुन् ।
अदालतमा के भने टोपबहादुरले ?
नक्कली शरणार्थी प्रकरणमा एमालेका निलम्वित सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफ्नो राजनीतिक छवि धुमिल्याउन गलत आरोप लगाएको दाबी गरेका छन् ।
जिल्ला अदालत काठमाडौंमा बयानको क्रममा रायमाझीले आफूले यो प्रकरणमा कुनै पनि रकम नलिएको दाबी गर्दै आफूविरुद्ध षडयन्त्र भएको तर्क राखेका छन् ।
आफ्नाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि आफै प्रहरीसमक्ष आउने गरि भैरहवाबाट रातिको प्लेन टिकट काटेपनि प्रहरीले छोरालाई पक्राउ गरेपछि आफूलाई पनि विमानस्थलबाटै पक्राउ गर्ने सुचना पाएको र त्यसपछि आफू विरामी पनि भएकाले उपचार गरेर प्रहरीसमक्ष उपस्थित हुन खोज्दा खोज्दै प्रहरीले पक्राउ गरेको उल्लेख गरेका छन् ।
यस्तै, रायमाझीले आफ्नो संसद सचिवालयले एभरेष्ट बैंकमा खोलिदिएकोबाहेक बैंक खाता नै नभ्एको जिकिर गरेका छन् ।
मेगा बैंकबाट ३ करोड ऋण छोराले लिएको बताएका उनले आफ्नो नाममा भने अर्घाखाँचीमा ८ रोपनी जग्गा मात्रै रहेको दाबी पेश गरेका छन् ।
अदालतमा टेकनारायणः दबाब, निद्रा र वहकावमा बयान भयो
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले आफू र विचौलियाबीच भएको एसएमएस सुराकी र सुचना संकलनका लागि भएको दाबी गरेका छन् ।
आफ्नो व्यक्तिगत मोबाइल नम्बरबाट कुराकानी नभएको दाबी गरेका उनले सचिवालयको नम्बरबाट एसएमएस भएको र कतिपय त सचिवालयका कर्मचारीले गरेको जिकिर गरेका छन् ।
जिल्ला अदालतमा बयानको क्रममा पाण्डेले आफू दिनरात नभनि झण्डै ३८ महिना निःशुल्क र अतिरिक्त सुविधा नलिएर काम गरेको दाबी गरेका उनले आफूलाई प्रहरीले यातना दिएको समेत दाबी गरेका छन् ।
अनुसन्धान अधिकारी समक्ष गरेको बयान व्यहोरा दवावमा गरेको र मध्यरातमा निद्रामा भएको अवस्थामा मेट्रो प्रहरीमा पटक–पटक लगी प्रहरी घेरामा राखेर बयान लिएर अन्तिममा सरकारी वकिलको सहिछाप गराएको उनको दाबी छ । यस्तै, उनले केहि बयान वहकावमा गरेको दाबी गरेका छ ।
जुम्लामा भाइरल ज्वरोको जोखिम उच्च, एक जनाको मृत्यु
जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ मा रहेको देयारपाटामा केही समयदेखि फैलिएको भाइरल ज्वरोबाट १ जना महिलाको मृत्यु हुनुका साथै गाँउमा ५३ जना विरामी फेला परेका छन् । ज्वरोका कारण मृत्यु हुनेमा सोही गाउँपालिका–७ देयारपाटा गाउँकी ६१ वर्षीय दिपु उपाध्याय रहेकी छिन् ।
उपाध्यायको मृत्युपछि उनको वरिपरि विरामीले थला परेपछि तत्कालै–७ का वडा अध्यक्ष तेजबहादुर जिसीले जनस्वास्थ्य कार्यालय जुम्लामा खवर गरेका थिए ।
अहिले कर्णाली प्रतिष्ठानको टोली र गाँउपालिका टोलीले चेकजाच गर्दा ५३ जना विरामी रहेको जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर सुमाइले बताए ।
उनका अनुसार ५३ जना मध्ये ८ जना गम्भीर प्रकृतिका पाइएको छ । त्यसमध्ये दुई जनालाई जुम्लाको सदरमुकाममा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । अहिले उनीहरु दुई जनाको उपचार भइरहेको छ ।
विरामीमा ज्वरो आउनुका साथै आँखाको नानी र टाउको दुख्ने, घाँटी दुख्ने जस्ता लक्षण देखा परेको छ ।
उक्त वडामा अहिले पुनः प्रतिष्ठानका डाक्टर विशाल रोकाया सहित दुई जनाको टोली त्यहाँ खटाइएको छ । प्रभावित क्षेत्रमा जनस्वास्थ्य कार्यालयले ४ जना स्वास्थ्यकर्मी परिचालन गरेको सुमाईले बताए ।
उपत्यकाबाट बाहिरिने सवारी नयाँ बसपार्कबाटै सञ्चालन हुने
काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर जाने सम्पूर्ण सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ । महानगरपालिकाले शुक्रबार एक सूचना जारी गरी काठमाडौंबाट उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको हो ।
जथाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडकमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको उल्लेख गर्दै महानगरले व्यवसायीलाई सवारीसाधान गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको हो । काठमाडौँ महानगरपालिकाले आगामी असार १ गतेदेखि नयाँ बसपार्क बाहिर रहेका टिकट काउन्टर हटाउन आग्रह गरेको छ ।
धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजतपत्र लिएका लामो दूरीका सवारीसाधनलाई पनि कलंकीदेखि जडिबुटीसम्म सवारी रोक्न निषेध गरिएको महानगरले जनाएको छ ।
सूचनाको अटेरी गरे असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीले नियमानुसार कानुनी कारबाही गर्नेसमेत महानगरको सूचनामा उल्लेख छ ।