१०० किलाे सुन बरामद प्रकरणमा के-के भयो अहिलेसम्म ?

१०० किलाे सुन बरामद प्रकरणमा के-के भयो अहिलेसम्म ?

  • सुस्मिता बानियाँ

काठमाडौँ । गत साताको बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलो अर्थात क्विन्टल सुन बरामद गरियो । हङ्कङबाट ल्याइएको एक सय किलो सुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको राजस्व अनुसन्धान विभागले भन्सार जाँचपास भएर ट्याक्सीमा लाँदै गरेको अवस्थामा बरामद गरेको थियो । बरामद गरिएको सुनको छुट्टयाएर अहिलेसम्म तौल गरिएको भने छैन । यो प्रकरणमा बिहिबारसम्म एक चिनियाँ, एक भारतीय नागरिक, भन्सार कर्मचारी एजेन्टलगायतगरि १७ जना पक्राउ परिसकेका छन् । सडकेदेखि सदनसम्म बहस चर्किएको सुन प्रकरणको छानविनमा अहिलेसम्म के-के भयो त ?

१. सुन बरामद

नेपालमा हालसम्मकै धेरै अवैध सुन बरामद भएको यो प्रकरणमा रेडी ट्रेड प्रालिका नाममा मोटरसाइकल तथा स्कुटरको ब्रेकसुमा लुकाएर ल्याइएको भेटिएको हो । केही समयअघि मात्रै दर्ता भएको प्रालिले दुई महिनामा १ हजार ९ सय ९७ किलो सामान आयात गरेको छ । हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको विमानमा ३० असारमा १६० सेट ‘ब्रेक शु’ आएको थियो । भन्सार जाँच पार गरेर ३ साउनमा दिउँसो २ बजे बाहिरिएको ‘ब्रेक शु’भित्र सुन भएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागले ट्याक्सीलाई नियन्त्रणमा लिई सुन बरामद गरेको हो ।

२. बरामद सुनमाथि अनुसन्धान

बरामद भएको विषयमा साउन ४ मा गृह मन्त्रालयमा बैठक बस्यो । बैठकमा भन्सार विभागका कर्मचारीहरू समेत बोलाइएका थिए । उक्त बैठकपछि उक्त सामानसहितको सुन गत साताको बिहीवार राष्ट्र ब्याङ्कलाई बुझाइएको थियो । सुनसहित उक्त सामान एक सय ५५ किलो रहेको राष्ट्र बैंकले जनाएको छ ।

३. गृहमन्त्रीको अभिव्यक्ति र केपी ओलीको आक्रोश

सुन बरामदपछि विमानस्थलको अध्यागमन विभाग र भन्सार कार्यालयको अनुगमनमा पुगेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले घटनामा संलग्न जो कोहीलाई पनि कारबाही हुने बताए । तर, गृहमन्त्रीको अभिव्यक्तिसँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच्किए । अध्यक्ष ओलीले यति ठूलो परिमाणमा सुन तस्करी हुँदा गृहमन्त्री श्रेष्ठ गैरजिम्मेवार भएको आरोप लगाए । गृहमन्त्री श्रेष्ठ काम नगरी जथाभावी बोल्दै हिंडेकोसमेत उनको आरोप थियो ।

४. संसदमा बहस

सुन बरामदबारेको बहस संघीय संसदका दुबै सदनमा जोडतोडले उठिरहेको छ । विपक्षी दलका साथै सत्तापक्षकै सांसद डा. सुनिल कुमार शर्माले पनि सुन प्रकरणको विषयमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका छन् । विहीबार राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले पनि गृहमन्त्रीमाथि नै प्रश्नचिन्ह खडा गरेका छन् ।

५. कर्मचारी फेरबदल

अनुसन्धान जारी रहेका बेला सरकारले साउन ९ गते त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा टोकराज पाण्डेलाई नियूक्त गरेको छ । निजामती राष्ट्रिय किताबखानाका महानिर्देशक पाण्डे गत बिहीबार मात्रै अर्थ मन्त्रालयमा सरुवा भएका थिए ।

६. पक्राउ पर्नेहरु

सुन बरामद भएसँगै अहिलेसम्म १७ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा चिनियाँ नागरिक जिक्वाङ लिङ, तिब्बतीय मुलका भारतीय नागरिक थिप्तेन छिरिङ, दोलखाका रामकुमार भुजेल र दीलिप भुजेल, भोजपुरका हर्कराज राई,ट्याक्सी चालक अशोक लामा छन् । त्यसैगरि, राजन श्रेष्ठ र कृष्ण श्रेष्ठसँगै ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्करराज भट्ट र भन्सार एजेन्ट राजेन्द्र राई पनि पक्राउ परेका छन् ।

७. अनुसन्धान र छापा

राजस्व अनुसन्धान विभागले सुन प्रकरणमा जोडिएका ब्यापारीहरुको गोदाममा छापा मार्ने काम जारी राखेको छ । साउन १० मा सेयर कारोबारी राकेश अडुकियाको कमलपोखरीस्थित घरमा छापा मारी केही सामान जफत समेत गरिएको छ । यस्तै, रेडी ट्रेडको सोह्रखुट्टे गोदाममा छापा मारी ६६ वटा कार्टुन बरामद गरिएको छ । कार्टुनमा रहेको सामानहरूको साइज, प्याकिङ, डिजाइन सबै गत २ गते बरामद गरिएको सुनको ब्रेक सुजस्तै देखिएको विभागले जनाएको छ । बरामद गरिएको कार्टुनमा सुनको गहना बनाउन प्रयोग हुने साँचो जस्तो देखिने धातुको वस्तु भेटिएको छ भने पक्राउ परेका चिनियाँ नागरिक जिक्वान लिनको बालुवाटारस्थित गोदामबाट सुन गाल्ने मेसिनसमेत बरामद गरिएको छ ।

८. प्रत्यक्ष प्रसारण गरिने

विमानस्थलबाट गत २ साउनमा बरामद भएको सुन गालेको प्रत्यक्ष प्रसारण गरिने भएको छ । स्कुटरको ‘ब्रेक शु’मा लुकाएर ल्याइएको सुन ‘ब्रेक शु’ बाट छुट्याएर यकिन गर्दाको प्रक्रिया सर्वसाधारणलाई प्रत्यक्ष प्रसारण मार्फत जानकारी दिन लागिएको राजस्व अनुसन्धान विभागले जनाएको छ । यसबारे विभागले प्रधानमन्त्रीसँग छलफल गर्नुपर्ने भएकाले निर्णय भने शुक्रबार प्रधानमन्त्री नेपाल फर्किएपछि मात्रै गर्ने तयारी गरिएको छ ।

 

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *