१०० बढीको सामानमा अनिवार्य भन्सार लागु गरेपछि बढ्यो राजश्व

१०० बढीको सामानमा अनिवार्य भन्सार लागु गरेपछि बढ्यो राजश्व

  • युवराज आचार्य

झापा । पछिल्लो समय पूर्वको मुख्य नाका काँकरभिट्टा नाकामा भारतीय बजारबाट किनमेल गरेर ल्याइएको सामानहरुमा अनिवार्य भन्सार तिराउन थालिएको छ । मेची भन्सार कार्यालयले सीमावर्ती बजारबाट किनमेल गरेर ल्याएको १०० रुपैयाँभन्दा बढी मूल्यको सामान नेपाल भित्र्याउँदा अनिवार्य भन्सार लाग्ने नियम प्रभावकारी बनाउन थालेसँगै सबै सामानहरुको अनिवार्य भन्सार तिर्नु परेको हो ।

नेपाल सरकारले साउन १ गतेदेखि नै देशका सबै नाकाहरुमा सीमावर्ती बजारबाट किनमेल गरेर ल्याएको १०० रुपैयाँभन्दा बढी मूल्यको सामान नेपाल भित्र्याउँदा अनिवार्य भन्सार लाग्ने नियम लागु गरेको छ । जसलाई कार्यान्वयन गर्न मेची भन्सार कार्यालयले पनि अहिले कडाइ गरेको जनाएको छ ।

खुल्ला सिमानाका कारण होस् वा केहि सस्तो हुने विश्वासमा सीमावर्ती क्षेत्रका नेपालीहरु प्राय भारतीय बजारबाट नै खाद्यन्नदेखि घरायसी अन्य थुप्रै सर–सामान खरिद गरी नेपाल ल्याउने गर्दछन् । त्यस्तै सयौंको संख्यामा झापा तथा झापा बाहिरबाट आएर धेरै महिलाहरुले पनि वारिपारि सामान ओसार्दै आफ्नो घरपरिवारको गुजरा चलाउँदै आइरहेका छन् ।

अहिले नाकामा कडाइ गरिन थालेसँगै बर्षौंदेखि सीमावर्ती बजारबाट बिनाभन्सार घरायसी प्रयोजनका लागि नुन, चिनी, तेल, चामल, दाललगायतका खाद्यन्न तथा सागसब्जी किनेर ल्याउने सीमावर्ती क्षेत्रका नागरिकहरु समस्या हुने भन्दै व्यवहारिकता हेरिनुपर्ने बताउँछन् । त्यस्तै वारीपारी सामान ओसार्दै आफ्नो घरपरिवारको गुजरा चलाउँदै आइरहेका ससाना पोके व्यपारीहरु पनि व्यवहारिकता हेरिनुपर्ने बताउँछन् । भन्सार तिर्न हामीलाई कुनै समस्या छैन तर, भन्सार तिरेर ल्याएको सामानमा समेत शसस्त्र प्रहरी र नेपाल प्रहरीले दुःख दिने गरेको उनीहरुको भनाई छ ।

भन्सारमा खुल्ला हुँदा बिगतमा सिमा पारी भारतिय बजारहरु नेपालीका कारण चलायमान हुने तर, सिमावर्ती नेपाली बजारहरु भने दिनदिनै सुक्दै गइरहेका थिए । बिक्री-वितरण नहुँदा स्थानीय व्यपारीहरु आफ्नो पेशाबाट नै विस्तापित हुनुपर्ने अवस्था सिर्जना भइसकेको अवस्थामा सरकारले लागु गरेको नयाँ नियमले नेपाली स्थानीय व्यपारीहरुलाई केहि हदसम्म राहात पुगेको मेची उद्योग वाणिज्य संघले जनाएको छ । संघका अध्यक्ष ख्यामराज प्रसाईले भन्सार छलि, चोरी तस्करीलाई निरुत्साहित गर्न आफूहरु पनि साथमा रहेको बताउँछन् ।

अहिले एक सयभन्दा बढी मूल्यको कुनैपनि सामान लिएर भारतको स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले आफ्नो साथमा ल्याएको मालसामानको मेची भन्सार कार्यालयको यात्रु शाखामा अनिवार्य जाँचपास गराएर आवश्यक राजस्व तिरेर मात्रै लैजानु पर्ने भन्सार कार्यालयले जनाएको छ । तर, यसअघि सीमा क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार अनिवार्य थिएन । नाकामा कडाई गर्न थालेसंगै सीमा क्षेत्रका नेपाली बजारलाई राहत मिल्ने भन्सार कार्याको दावी छ ।

भारतीय बजारबाट विना भन्सार सामान भित्राउँदा स्वदेशी बजार र राजश्व लक्ष्यसमेत घट्दै गएको थियो । तर, अहिले नयाँ नियम कडाईका साथ लागु भएसंगै एक महिनामा मात्रै राजस्वमा उल्लेख्य सुधार भएको छ । मेची भन्सार कार्यालयका अनुसार साउन महिना अन्य महिनाको तुलनामा कम राजस्व संकलन हुने महिना हो । तर, यस बर्ष साउन महिनाको लक्ष्य १ अर्ब १५ करोड ३९ लाख रहेकोमा लक्ष्य करिब पुरा गरेको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए । उनले सरकारले जारी गरेको नियम अक्षरस्त पालना गराउन आफुहरु लागि परेको बताउँछन् ।

सीमावर्ती बजारमा हुने अवैध कारोबारलाई निरुत्साहित गर्न अहिले जुन तदारुकता देखिएको छ त्यो भन्सार, प्रहरी, सशस्त्र प्रहरी, उद्योगी, व्यपारी र सर्वसाधारणबाट सधै कायम रहने हो भने राज्यको राजस्व संकलनमा थप टेवा पुग्ने देखिन्छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *