
काठमाडौँ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणका अनुसार नेपालमा अझै १५.१ प्रतिशत जनसंखया गरिबीको रेखामुनि रहेको पाइएको छ । गरिबीको रेखामुनि रहेको ठूलो जनसंख्या अहिले पनि ग्रामिण भेगमा बस्ने गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्यामा अहिले केही सुधार भने देखिएको आंकडाले देखाएको छ । बहुआयामिक गरिबीको रेखामुनि भने १७.४ प्रतिशत जनसंख्या रहेको छ । बहुआयामिक गरिबी ग्रामिण भेगमा २८ प्रतिशत जनसंख्या रहेको छ । शहरी क्षेत्रमा १२.३ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीको रेखामुनि रहेको छ । कर्णालीमा ३९.५ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीमा छ भने बागमतीमा मात्र ७ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीमा रहेको छ ।
सरकार उल्टो बाटोमा
आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमा पुँजीगत खर्च गर्ने मन्त्रालयहरूको सिलिङ घटाएर सरकार उल्टो बाटोमा गएको बताएका छन् । अर्थ समिति बैठकमा बोल्दै सांसदहरूले सरकारले पुँजीगत खर्च गर्न नसकिरहेको अवस्थामा सबैभन्दा बढी पुँजीगत खर्च गर्ने मन्त्रालयहरूको बजेट सिलिङ घटाएर उल्टो बाटोमा सरकार जान लागेको आरोप लगाएका हुन् । बैठकमा बोल्दै अर्थ समिति सदस्य सूर्यबहादुर थापाले अहिले सबैभन्दा बढी दबाब भौतिक पूर्वाधारमा भए पनि योजना आयोगले ३२ प्रतिशत बजेटको सिलिङ घटाउनु राम्रो नभएको बताए । त्यस्तै, अर्का सांसद पूर्णबहादुर तामाङले राष्ट्रिय योजना आयोग ७७ जिल्लामा शाखा विस्तार गरी खानी तथा जलविद्युतको सम्भावनाको विषयमा अनुसन्धान गर्न आवश्यक रहेको बताए । मुलुक दुई–तीन महिनापछि आर्थिक रूपमा टाट पल्टने अवस्था देखिएको बताएका सांसद मेटमणि चौधरीले आर्थिक मन्दीको कारण धेरै उद्योगी सडकमा आउन थालेको बताएका छन् ।
भित्र बजेट अधिवेशन, बाहिर झडप
कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशनको पहिलो बैठक आइतबारबाट सुरु भएको छ । तर, बजेट अधिवेशनको पहिलो दिन सांसदहरुले बजेटमा छलफलमा भन्दापनि प्रदेशको नामाकरणपछि असन्तुष्ट समूहसँग तत्काल वार्ता गरी समस्या समाधान गर्नमा जोड दिएका छन् । प्रदर्शनकारीले प्रदेशसभा घेराउ गर्न जाने क्रममा निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि आक्रमणमा उत्रेपछि प्रहरीले पानीको फोहोरा, हवाई फायर, अश्रुग्यास प्रहारका साथै लाठीचार्जसमेत गरेका छन् । जसकारण पनि सांसदहरुले आन्दोलनरत पक्षसँग वार्ता टोली गठन गरेर वार्ता नगरिए स्थिति भयावह हुनेतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सार्वजनिक ऋणको आकार बढ्दै
पछिल्ला वर्षहरूमा सरकारको आन्तरिक तथा बाह्य सार्वजनिक ऋणको आकार बढ्दै गएको छ । तर, सरकारले आगामी आर्थिक वर्षमा पनि ऋणलाई निरन्तरता दिने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू वर्षको १० महिनामा मात्रै एक खर्ब ४० अर्ब ८२ करोड ४५ लाख रुपैयाँको ऋणभार थपिएको छ । वैशाख मसान्तसम्म १० खर्ब ८३ अर्ब ४७ करोड ४९ लाख रुपैयाँ आन्तरिक ऋण र १० खर्ब ७० अर्ब ६४ करोड ९० लाख रुपैयाँ बाह्य ऋण गरी कुल २१ खर्ब ५४ अर्ब १२ करोड ३९ लाख रुपैयाँ सरकारको ऋण दायित्व देखिन्छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङक अनुसार हरेक वर्ष करिब तीन खर्बले सार्वजनिक ऋणको आकार बढ्दै जाँदा पछिल्ला ३ वर्षमा ७ खर्ब ऋण थपिएको छ ।
नेपाललाई २१% निःशुल्क बिजुली
लगानी बोर्ड नेपालले तल्लो अरुण जलविद्युत् परियोजनाको आयोजना विकास सम्झौता (पीडीए) स्वीकृत गर्ने निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बोर्ड सञ्चालक समितिको बैठकले ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुणको पिडिए स्वीकृत गरेको हो । बोर्डले स्वीकृत गरेको पीडीएअनुसार नेपाल सरकारले २१ प्रतिशत विजुली निःशुल्क प्राप्त गर्ने भएको छ । यस्तै, आइतबार बसेको बोर्ड बैठकले ७ सय ५६ मेगावाट क्षमताको जलाशय युक्त तमोर जलविद्युत परियोजनाका सम्बन्धमा चिनियाँ कम्पनी पावर चाईनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बोर्डले २०७६ सालमा जलाशय युक्त तमोर जलविद्युत परियोजना निर्माणको अनुमति एचआईडिसीएल र पावर चाइनाको ज्वाइन्च भेन्चर कम्पनीलाई दिने निर्णय गरेको थियो ।
चिनियाँ सी–९१९ जहाजको व्यवसायीक उडान सुरु
आइतबारदेखि चीनले बनाएको सी ९१९ हवाइजहाजले व्यावसायिक उडान सुरू गरेको छ । कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइनाले बनाएको यो जहाज आइतबार १२० यात्रु बोकेर उक्त जहाज सांघाईबाट राजधानी बेइजिङ उडेको हो । सी ९१९ चीनले बनाएको पहिलो ठूलो यात्रुवाहक जहाज हो । सन् २००९ बाट बनाउन सुरु गरिएको यो जहाजको पहिलो परीक्षण उडान सन् २०१७ मा यो जहाजको गरिएको थियो । चाइना इस्टर्न एयरलाइन्सले चीनमै बनेको उक्त जहाज व्यावसायिक उडानका लागि किनेको थियो । कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइनाकाअनुसार अहिले यो मोडलका १२ सय जहाज किन्न अर्डर आइसकेको छ । निर्माताले गत डिसेम्बरमा जहाज एयरलाइन्सलाई दिएका थिए । ३८.९ मिटर लामो उक्त जहाज ११.९५ मिटर अग्लो छ । जहाजको नाममा भएको सीको अर्थ चाइना हो भने ९ को अर्थ दीर्घकालसम्म टिक्ने र १९ को अर्थ १९० सिट क्षमता भन्ने हो। सी९१९ चीनले बनाएको पहिलो ठूलो यात्रुवाहक जहाज हो ।