२०० छुट गराउँदा प्रचण्ड जयजय, चार्ली जीवीत हुन्थे भने माधवको भाषण सुनेर हाँसेर फेरि मर्थे ! (भिडियो)

२०० छुट गराउँदा प्रचण्ड जयजय, चार्ली जीवीत हुन्थे भने माधवको भाषण सुनेर हाँसेर फेरि मर्थे ! (भिडियो)

काठमाडौं । वीर अस्पतालको जनरल बेडको शुल्क थियो दैनिक २ सय रुपैयाँ । यो दुई सय रुपैयाँको बेड निःशुल्क गरिएपछि ‘प्रजा वत्सल सम्माननीय प्रधानमन्त्री श्री श्री श्री पुष्पकमल दाहाल प्रचण्डज्यूको’ जय होस् । यस्ता प्रतापी प्रधानमन्त्री अमर रहुन्’ भन्ने शैलीमा माओवादीका समर्थकहरुले जयजयकार गरिरहेका छन् ।

शब्द ठ्याक्कै यस्तै छैन, सायद लोक लज्जाकाले गर्दा होला, भाषामा केही लोकतान्त्रिक शैली अपनाइएको छ ।

वीर अस्पतालमा २ सय रुपैयाँको बेड निःशुल्क गराउने काम कांग्रेसका स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले गरेका हुन् कि माओवादीका प्रधानमन्त्रीले ? जस लिने क्रममा वाइ सिएल र नेपाल तरुण दल बीच भिडन्त भयो भने अनौठो नमाने हुन्छ ।

माओवादी पक्षको नाराले भन्छ – ‘माओवादी छः सम्भव छ ।’

मोहनबहादुर बस्नेत आइसकेपछि पनि स्वास्थ्य मन्त्रालयमा कुनै हर्कत नभएको देखेर मानिसहरुले आश्चर्य मानिरहेका थिए ।

विवादित कुनै काम किन भइरहेको छैनन ? किन सामान्य हिसाबले नै चलिरहेको छ ? जस्ता प्रश्नहरु थिए ।

एकातिर २ सयको बेड निःशुल्क गरेको प्रचार गराइ रहँदा अर्को तिर प्रधानमन्त्री प्रचण्डले काण्डै काण्ड मच्चाउने डाक्टर भूपेन्द्र बस्नेतलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको उपकुलपतिमा नियुक्त गरे ।

प्रजा वत्सल प्रधानमन्त्रीबाट उपकुलपतिमा नियुक्त भएका डाक्टर बस्नेतले राष्ट्रलाई दिएको योगदानको के हो भने उनी वीर अस्पतालको कार्यकारी निर्देशक हुँदा ३९ करोड रुपैयाँको टोमो थेरापी मेसिन खरिद गराए ।

मेसिन खरिद हुने बित्तिकै उनी निर्देशक पदबाट विदा भए । क्यान्सरको जटिल समस्यामा उपयोग हुनुपर्ने ३९–३९ करोडको मेसिन अहिले बलम्वुमा रहेको सशस्त्र प्रहरीको अस्पतालमा थन्क्याएर राखिएको छ । यो मेसिन खरिद गर्नुको उद्देश्य प्रयोगमा ल्याउनु थिएन ।

नेपाल भ्रष्ट मुलुक भन्ने सबैलाई थाहा छ । यदि त्यो मेसिन कमिसनकै कारण खरिद गरिएको रहेछ भने १० प्रतिशत मात्रै कमिसनमा गयो भने पनि ३९ करोडको कमिसन ३ करोड ९० लाख हुन्छ ।

२ सयको बेड निःशुल्क गरेको कुरा प्रचार गराएर डाक्टर भूपेन्द्र बस्नेतलाई प्रचण्डले उपकुलपति बनाएको यो खबरलाई पनि किन कसैले फोटो सप गरे ‘माओवादी छः सम्भव छ’ भनिरहेको छैन ? कि भाँचिए हात ?

प्रधानमन्त्रीले योग्य देखेका डाक्टर बस्नेतका अरु योग्यता पनि भन्दैछु । बस्नतेले ४० करोड ९८ लाख खर्चेर इन्ट्रा अपरेटिभ सिटी स्क्यान मेसिन किन्दा ९ करोड कम मूल्यमा प्रस्ताव गर्नेसँग नकिनेर महँगोमा मेसिन किनेका थिए ।

बस्नेतको यो काण्ड अख्तियारमा पनि पुगेको छ । तर दर्शकहरुलाई थाहा नै छ, नेपालको अख्तियार भनेको भ्रष्टहरुलाई संरक्षण गर्ने निकाय जस्तो बनेको छ ।

बस्नेतका यिनै दुई वटा योग्यता देखेर स्वास्थ्य मन्त्री बस्नेतको सिफारिसमा प्रधानमन्त्रीले उनलाई उपकुलपति बनाएका होलान् त ? यस्तो अलि होइन, बस्नेतले रद्द भइसकेको विज्ञापनलाई दुरुपयोग गरेर ११ औं तहमा बढुवा हुने प्रयत्न गरे । सिफारिस गराए । तर पार नलागेपछि, विवाद भएपछि १० औं तहमै झरे ।

हालसम्म सार्वजनिक भएका डाक्टर भूपेन्द्र बस्नेतका यी योग्यता दर्शकहरुलाई कस्तो लाग्यो कुन्नी ? तर प्रधानमन्त्रीलाई त घनघोर राम्रो लागेछ ।

‘माओवादी छः सम्भव छ’ भन्नेहरुले कुलमान घिसिङ र प्रचण्डको फोटो जोडे झै भूपेन्द्र बस्नेतसँग चाहिँ किन नजोडेका हुन् ? जोडे हुन्थ्यो नी ? लाज लागे जस्तो छ ।

हाम्रो देशमा काविल भएर वा योग्यता भएर मात्रै काम कुरो पार लाग्दैन । राजनीति यति घटिया भइसक्यो कि पद पाउन डाक्टरहरु समेत पार्टीको झोला बोक्नु पर्छ ।
दूर्भाग्यको कुरा के छ भने पढे लेखेका, योग्यता भएका, दक्षता भएका र कुनै दलको चाकडी नगरी पनि आत्मसम्मानका साथ बाच्न सक्नेहरु पनि दलको झन्डा समातेर नियुक्ति लिन पुग्छन् ।

यसपटक न्याम्सको रेक्टरमा कांग्रेसको कोटाबाट डाक्टर लोचन कार्की रेक्टर भए, डाक्टर अशेष ढुंगाना डिन भए ।

माओवादी केन्द्रको कोटाबाट डाक्टर ज्ञानेन्द्र शाह रजिष्टार बने । यिनीहरु काविल होइनन् भन्ने खोजिएको होइन । तर काविलहरु मध्येका काविल चाहिँ होइनन् ।

योग्यता पुगेका, एक हातमा स्टे–थेस्कोप अर्को हातमा पार्टीको झन्डा लिएका कारण नियुक्त भएका हुन् ।

अब अलिकति चर्चा गरौं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको विलक्षण, तिलस्मी, अदभूत भाषणको ।

आज चार्ली च्याप्लिन जीवीत हुन्थे भने अध्यक्ष नेपालको यो भाषण सुनेर हाँसेर फेरि मर्थे । आज चर्चिल जीवीत हुन्थे भने उनले भन्थे – ‘माधव कमरेड, मेरो भन्दा शान्दार भाषण गर्नु भयो । तपाईका गुरु चाहिँ को हुनुहुन्छ ?’

अध्यक्ष नेपाल भनिरहेका छन् कि ओलीले कम्युनिष्ट प्रधानमन्त्री प्रचण्डको सरकार ढालेर दलाल पुँजीवादका संरक्षक शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयत्न गरिरहेका छन् ।

देश चलाउने हाम्रा नेताहरुको भाषण सुनेर हाँस्नु कि रुनु ? एमाले अध्यक्ष केपी ओलीकै सरकार ढालेर तपाई र प्रचण्डले किस्तिमा प्रधानमन्त्री पद राखेर बुढानिलकण्ठ पुग्नुभएको होइन ? अनि अहिले तपाईले आफ्ना पार्टीका सांसदहरुलाई त्यही कांग्रेसकै आड भरोसामा मन्त्री बनाउन सक्नु भएको होइन ? कार्यकर्ता अल्मल्याउन मात्रै यस्तो भन्नु भएको होइन र मन देखि नै कांग्रेस एक पुँजीवादीहरुको दलाली पार्टी हो भने यस्तो खराब पार्टीको बुई चढेर किन सत्तामा बस्ने ? छाडे भइ त गयो ?

अब फेरि प्रचण्डपछि तपाई, तपाई पछि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने सहमति भएको भन्ने छ ।

अरुले गर्दा शेरबहादुर दलाल पूँजीवादी हुने, आफूले गर्दा चाहिँ समाजवादी हुने हो कि के हो ?

हाम्रो मनमा अरु खास त्यस्तो कुरा खेल्दैन । एउटा कुरा चाहिँ अलि बढी नै खेल्छ । आखिर के खान पाउँदा यस्ता कुरा बोल्न जानिन्छ ?

अनि के खाँन पाइयो भने आफ्ना नेताले गरेको यस्तो भाषण सुन्दा थपडी बजाउन मन लाग्छ होला ? यो प्रश्नको जवाफ पोषणविद्हरुले पनि दिन सकेका छैनन् ।

(भिडियो)

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *