काठमाडाैँ । राष्ट्रिय योजना आयोगले समग्र मानव संशाधन विकास योजना तर्जुमालाई अगाडि बढाएको छ । देश विकासको लागि मानव संशाधन विकासको महत्वलाई दृष्टिगत गरी राष्ट्रिय योजना आयोगले समग्र मानव संशाधन विकास योजना तर्जुमा गर्ने कार्यलाई अगाडि बढाएको हो । समग्र मानव संशाधन विकास योजना तर्जुमालाई अगाडि बढाउन कार्यशर्त तोकेर परामर्शदातालाई प्रतिवेदन तयार गर्न लगाइएको थियो । मस्यौदा प्रतिवेदनमा नेपालको विद्यमान मानव संशाधनको अवस्था, रोजगारी र बेरोजगारीको अवस्था २०८६ सालसम्म सृजना हुने सम्भाव्य रोजगारीको प्रक्षेपणसहितको विवरण समावेश गरिएको छ । देशमा हाल करिब ९ लाख बेरोजगार रहेकोमा २०८६ सम्म ३ लाखमा झार्ने, सार्वजनिक र निजी क्षेत्रमा रोजगारीको विस्तार गर्ने, सीपमूलक तालिमको विस्तार गर्ने लगायतका विषयहरु प्रतिवेदनमा समावेश गरिएको छ ।
भैरहवा विमानस्थल विस्तार गर्न ४ अर्बको ठेक्का
उद्धाटन भएको एक वर्षसम्म पनि सञ्चालन हुन नसकेको भैरहवास्थित गौतम बुद्ध विमानस्थल विस्तार गर्न ४ अर्ब रुपैयाँ खर्च गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण९क्यान० ले गत जेठ अन्तिम साता भैरहवा विमानस्थलमा ट्याक्सी वे रिह्याबिटेसन, एप्रोन निर्माण, सडक र पुल निर्माण लगायतका विभिन्न काम गर्न भ्याटसहित ३ अर्ब ९९ करोड ४९ हजार रुपैयाँमा ठेक्का लगाएको हो । प्राधिकरणले आषिश क्षमादेवी र बुद्ध हिमालीको ज्वाइन्ट भेन्चरलाई ठेक्का दिएको हो । पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य तथा नेकपा समाजवादीका नेता धनबहादुर बुढाको लगानी रहेको बुद्ध हिमालीलाई टेण्डर दिने गरी प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सहजीकरण गरेको स्रोतको दाबी छ । प्राधिकरणले गत मंसिर २३ गते भैरहवा विमानस्थलमा काम गर्ने सम्बन्धी बोलपत्र आह्वान गरेको थियो ।
जलविद्युतमा १ खर्ब लगानी प्रतिबद्धता
चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विद्युत क्षेत्रमा लगानीकर्ताले १ खर्ब बढीको लगानी प्रतिबद्धता जनाएका छन् । उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा १ खर्ब ७ अर्ब ५१ करोड १२ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका हुन् । नेपालमा विद्युत क्षेत्रमा प्रचुर सम्भावना देखिएसँगै निजी क्षेत्रले उच्च लगानी गरिरहेका छन् । सरकारले अहिले वैदेशिक व्यापारघाटा कम गर्नका लागि नेपालबाट निर्यात गर्न सक्ने जनाइएको छ । बंगलादेशमा बिजुली निर्यात गर्ने तयारी गरेको सरकाररले सरकारले भारतमा बिजुली निर्यात गर्दै आएको छ । विभागअनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा एउटै जलविद्युत आयोजनामा १६ अर्ब बढी लगनाी प्रतिबद्धता जनाएको छ ।
५४ लाख ३३ हजार करदाता
चालू आर्थिक वर्षको १० महिनासम्ममा नेपालमा करमा दर्ता हुनेको सङ्ख्या ५४ लाख नाघेको छ । तीनै प्रकृतिका गरेर ५४ लाख ३३ हजार ८ सय २४ ले स्थायी लेखा नम्बर लिएको अर्थ मन्त्रालयको तथ्याङ्क छ । कुल करदातामध्ये १८ लाख ७० हजार ४ सय ५७ ले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् भने ३५ लाख ३७ हजार २ सय ४८ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् । करकट्टी गर्ने २६ हजार १ सय १९ वटा निकायले पनि स्थायी लेखा नम्बर लिएका छन् । यसबाहेक हालसम्म तीन लाख सात हजार २७ मूल्य अभिवृद्धि करमा दर्ता भएका छन् भने एक लाख १८ हजार ९ सय ६१ अन्तःशुल्कमा दर्ता भएका छन् । पाँच हजार रुपियाँभन्दा माथिको कारोबारका लागि स्थायी लेखा नम्बर अनिवार्य गरिँदा पनि दर्ता हुनेको सङ्ख्या बढिरहेको छ ।
करमा लचकता
सहकारी संस्थाहरुले चालू आर्थिक वर्ष २०७९/०८० को ब्याज आगामी साउन १५ गते भित्र भुक्तानी गरे चालु आर्थिक वर्षकै आयमा गणना गर्न पाउने भएका छन् । सहकारी विभागले आय अवरुद्ध भएका सहकारी संस्थाहरुको वित्तीय कारोबार सहज बनाउन बिहीबार निर्देशन जारी गरेको हो । विभागले ऋणीहरुमा परेको प्रभाव मूल्यांकन गरी मागका आधारमा गत आवमा खराब ऋणीको सूचीमा नपरेका तथा कर्जा पुनर्तालिकीकरणको सुविधा नलिएका र कर्जाको पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गरेमा बाँकी सावाँलाई ३ महिनाको अवधिमा लागि मात्रै पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको छ ।