
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार २९ अर्ब बढी आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकले असार १८ गते सोमबार २९ अर्ब ६६ करोड ६५ लाखको ट्रेजरी बिल बोलकबोल गरि मंगलबार बिल निष्काशन गर्ने तयारी गरेको हो । राष्ट्र बैंकले २८ दिन अवधिको ८ अर्बको ट्रेजरी बिल, ९१ दिन अवधिको ७ अर्ब ७५ करोडको ट्रेजरी बिल, १८२ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल, र ३६४ दिन अवधिको ८ अर्ब ९१ करोड ६५ लाखको ट्रेजरी बिल बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । जस मध्ये ५ अर्बको ट्रेजरी बिल पुरानै ट्रेजरी बिलको नवीकरण हो भने बाँकी २४ अर्ब ६६ करोड ६५ लाखको ट्रेजरी बिल नयाँ हो । सोमबारको बोलकबोल गरेपछि राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।
वीरगन्ज र भैरहवा नाकामा आयात ठप्प, राजस्वमा कमी
वीरगन्ज र भैरहवा भन्सार कार्यालयबाट हुने अन्तर्राष्ट्रिय व्यापार घटेपछि समग्र भन्सारको राजस्वमा असर देखिएको छ । यी भन्सार कार्यालयबाट हुने अन्तर्राष्ट्रिय व्यापारमा ३५ प्रतिशत र राजस्वमा ४० प्रतिशतले कमी आएको भन्सार विभागले जनाएको छ । यातायातका साधन र पेट्रोलियम पदार्थको आयातमा कमी आएपछि राजस्व घटेको वीरगन्ज भन्सार कार्यालयको भनाई छ । भैरहवा कार्यालयबाट गत वर्ष जेठसम्म १ खर्ब ८ अर्ब रूपैयाँ राजस्व उठेकोमा यो वर्ष ६९ अर्ब ६४ करोड रूपैयाँमात्रै उठेको छ । यस्तै, वीरगन्ज कार्यालयबाट गत वर्ष जेठसम्म १ खर्ब ८८ अर्ब रूपैयाँ संकलन भएकोमा यो वर्ष १ खर्ब ४२ अर्ब रूपैयाँ संकलन भएको छ । नेपालको अन्तर्राष्ट्रिय व्यापारमा भैरहवा र वीरगन्जमा रहेका दुई भन्सार नाकाको योगदान ६७ प्रतिशत छ ।
पेट्रोलको मूल्य घटेर आयो
भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचि पठाएको छ । इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार भारतबाट पेट्रोल र ग्यासको मूल्य घटेर आएको छ । तर डिजेलको मूल्य भने केही बढेर आएको छ । नेपाल आयल निगमका अनुसार डिजेलमा २ रुपैयाँ १६ पैसा बढेर आएको हो । पेट्रोलको मूल्य भने ७ पैसाले घटेर आएको छ । त्यसैगरि, मट्टितेलमा ५ पैसा र हवाई इन्धनमा ५७ पैसा मूल्य बढेर आएको छ । एलपीजी ग्यास १६० रुपैयाँले घटेर आएको छ । एलपीजी ग्यासमा यसअघि १६० रुपैयाँ घाटा थियो । आईओसीले पठाएको नयाँ मूल्य सूचीले एलपीजी ग्यासमा भने घाटा नहुने भएको छ ।
बैंकहरुमा निक्षेप थुप्रियो, कर्जा लगानी शुन्य
बैंक तथा वित्तीय संस्थामा साढे ३ खर्बभन्दा बढी पैसा थुप्रिएको छ । वस्तु तथा सेवाको मागमा कमी एवं उच्च ब्याजका कारण कर्जा प्रवाह सुस्त बन्दा असार १४ सम्ममा बैंक वित्तीय संस्थामा ३ खर्ब ५७ अर्ब २८ करोड रुपैयाँ थुप्रिएको हो । असार १४ सम्ममा बैंक वित्तीय संस्थामा ५५ खर्ब ९९ अर्ब निक्षेप संकलन भएकोमा ४८ खर्ब ५९ अर्ब कर्जा प्रवाह भएको छ । कर्जा निक्षेप अनुपात अर्थात सीडी रेसियो ८३.६२ प्रतिशतमा झरेको छ । बैंक तथा वित्तीय संस्थाको कर्जा–निक्षेप अनुपातको ९० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ ।
पर्यटक भित्रिन थाले
सन् २०२३ को पहिलो ६ महिनामा ४ लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशतले ‘रिकभर’ भएको हो । सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा पुगेको हो । बोर्डका अनुसार यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २ सय ४४ र मार्चमा ९९ हजार चार सय २६ जना नेपाल आएका छन् । त्यस्तै, अप्रिलमा ९८ हजार ७ सय ७३ जना र मे महिनामा ७७ हजार ७ सय ३ जना विदेशी पर्यटक नेपाल आएका थिए । जुनमा ७२ हजार दुईसय ५० जना विदेशी पर्यटक नेपाल आएका छन् । जुन महिनामा सबैभन्दा बढी भारतबाट ३८ हजार ८ सय ४५ जना पर्यटक भित्रिएका छन् ।
मारुती सिमेन्ट उद्योगका व्यापार प्रबन्धक ज्योति जोशी पक्राउ
मारुती सिमेन्ट उधोगका व्यापार प्रबन्धक ज्योति जोशी पक्राउ परेका छन् । जोशीलाई गुणस्तरहीन सिमेन्ट बिक्री गरेको (आपराधिक विश्वासघात) मुद्दामा सप्तरी प्रहरीले बिराटनगरबाट पक्राउ गरेको हो । राजविराज–४ का दिवाकर साहले दिएको जाहेरीका आधारमा जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भई मारुती सिमेन्टका व्यापार प्रबन्धक ज्योति जोशीलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीले जनाएको छ । प्रहरीले बुधबार पाँच दिनको म्याद थप गराई जोशीमाथि अनुसन्धान गरिरहेको छ । सोही मुद्दामा पक्राउ पुर्जी जारी भएका मारुती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठी र उनका छोरा उद्योगका प्रबन्ध निर्देशक अनुज राठीसहित ७ जना भने फरार रहेका छन् । अदालतबाट पक्राउ पुर्जी जारी भएका उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।