कपिलवस्तु, ४ जेठ ।
कपिलवस्तुका उखु किसानहरू सरकारले दिनुपर्ने रकम माग गर्दै आज काठमाडौको माइतीघरमा धर्नामा बसेकाछन छन । ३० जना अगुवा उखु कृषकहरू मङ्गलवार साँझ सरकारले तोकेको रकम नपाउँदा सम्म काठमाडौमै धर्ना दिनका लागि आज पुगेका छन् । आव २०७१÷७२ मा प्रतिक्विन्टल नेपाल सरकारले दिने निर्णय गरेको रकम पनि अहिलेसम्म नदिएको भन्दै उक्त रकम पटक पटक माग गरिएको छ ।
सरकारले दिने दुई करोड ५० लाख अनुदान रकम कपिलवस्तुका उखु किसानले नपाएको गुनासो गरेका छन् । सरकारले प्रतिक्विन्टल उखुको मूल्य रु ४६१ दिने घोषणा गरे पनि कपिलवस्तुमा मिल सञ्चालकले प्रतिक्विन्टल रु ४३६ मात्र दिएका थिए । बाँकी रु २५ रुपैयाँ सरकारले दिने सझौता भएको थियो । कपिलवस्तुका आठ हजार किसानले अनुदान रकम नपाएको बताएका छन् । पटक पटक सरकार र मिल सञ्चालकलाई अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको किसानले बताएका छन् । शिवराज नगरपालिकामा रहेको महालक्ष्मी सुर्गस मिलको कारणले आफूहरूले पाउनुपर्ने रकम नपाएका किसानहरूको गुनासो छ ।
पटक पटक ज्ञापन पत्र बुझाउँदा समेत सुनुवाइ नभएकोले अहिले किसानहरू सहित टोली माइतीघर मण्डलामा धर्ना बस्नु परेको कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरीले बताएका छन । आजको धर्नामा सांसद मंगलप्रसाद गुप्तले सहभागिता जनाएका थिए।