
सुरेन्द्र यादव ,
कृष्णनगर क्षेत्र हुँदै हुने अवैध पैठारी नियन्त्रण गर्न गठित कार्यदललाई पुनः सक्रिय बनाउने निर्णय गरिएको छ। विगत एक वर्षदेखि कुनै कार्यक्रम नभएको कार्यदल अब पुनः परिचालनमा ल्याउने निर्णय सर्वसम्मत रूपमा गरिएको हो।
छलफलमा कार्यदल विगतका वर्षहरूमा सञ्चालनमा रहेको भए पनि पछिल्लो समय निष्क्रिय रहेको र यस आर्थिक वर्षदेखि पुनः सक्रिय बनाएर प्रभावकारी ढंगले काम गर्ने योजना तय गरिएको हो। कार्यदलले अवैध वस्तु तथा पशुपन्छीको पैठारी रोकथाममा निगरानी, अनुगमन, चेकिङ र आवश्यक कारवाहीका कार्यक्रम अघि बढाउने छ।
त्यस्तै, अवैध क्रियाकलापबारे समयमै सूचना संकलन तथा आवश्यक निकायसँग आदानप्रदान गर्ने संयन्त्रलाई अझ प्रभावकारी बनाइनेछ। सुरक्षाकर्मी, भन्सार, क्वारेन्टाइन, प्रहरी, पत्रकार तथा सरोकारवाला निकायबीच नियमित समन्वय बैठक र संयुक्त अभियान सञ्चालन गरिनेछ।
कार्यदलमा दयाराम चौधरी (पशु क्वारेन्टाइन चेकपोष्ट), फणिन्द्र खतिवडा (कृष्णनगर भन्सार कार्यालय), अरुण कुमार सिंह (सशस्त्र प्रहरी बल कृष्णनगर), निरहु यादव (पत्रकार), ईश्वर लौडारी (ईलाका प्रहरी कार्यालय कृष्णनगर), र गणेश खनिया (सशस्त्र प्रहरी बल हरदौना) रहेका छन्।
समितिले चाँडै नै कार्ययोजना तय गरी नियमित अनुगमनको कार्य प्रारम्भ गर्ने जनाएको छ।