महाराजगन्जमा हात्तीपाइले विरुद्धको एक दिने अभिमुखीकरण तथा योजना गोष्ठी सम्पन्न

महाराजगन्जमा हात्तीपाइले विरुद्धको एक दिने अभिमुखीकरण तथा योजना गोष्ठी सम्पन्न


अनेक पाण्डे,
कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकामा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन (IDA) अभियानलाई प्रभावकारी बनाउन एक दिने अभिमुखीकरण, योजना तथा तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता नगर प्रमुख अब्दुल कलामले गर्नुभएको थियो।

विशिष्ट अतिथि रूपमा जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा नगरका सबै वडाका वडा अध्यक्षहरूको सक्रिय सहभागिता रहेको उक्त गोष्ठीमा हात्तीपाइले रोग नियन्त्रणका रणनीति, औषधि वितरण तथा जनचेतना अभिवृद्धिका विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा आगामी आम औषधि सेवन अभियानलाई सहज, सुरक्षित र प्रभावकारी बनाउन आवश्यक पूर्वतयारी, मानव संसाधन परिचालन, जोखिम समूह पहिचान तथा घर–घरमै पुगेर औषधि वितरण गर्ने प्रक्रियाबारे प्रशिक्षण प्रदान गरिएको थियो। वक्ताहरूले हात्तीपाइले रोग नेपालबाट पूर्णतः उन्मूलन गर्न स्थानीय सरकार, स्वास्थ्यकर्मी र समुदायको सहकार्य अपरिहार्य रहेकोमा जोड दिए।

नगर प्रमुख अब्दुल कलामले हात्तीपाइले नियन्त्रण अभियानमा सबै नागरिकको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै आगामी अभियान सफल बनाउन नगरपालिकाको तर्फबाट आवश्यक सहयोग निरन्तर रहने आश्वासन दिनुभयो।

कार्यक्रममा सहभागी वडा अध्यक्षहरू र स्वास्थ्यकर्मीहरूले आफ्ना वडामा रहेका चुनौती, जनचेतना अभावका कारण हुने समस्या र समाधानका उपायहरूबारे सुझाव प्रस्तुत गरेका थिए।

Leave a Comment

Your email address will not be published. Required fields are marked *