कपिलबस्तु, २३ असार
। भारत सरकारको सहयोगमा कपिलवस्तुमा निर्माण भएको दुई विद्यालय भवनहरुको उद्घाटन भएको छ ।
महाराजगन्ज नगरपालिका–९ मा रहेको शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालयको काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव करण वंशलले बिहीबार उद्घाटन गर्नुभयो ।
शिवभरीमा सात सय तथा जानकी उच्च माध्यामिक विद्यालयमा एक हजार तीन सय विद्यार्थीहरु अध्ययनरत छन् । शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्यअन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा ५ करोड ९२ लाख रुपैया लागतमा यो परियोजना अघि बढेको थियो ।
भारतीय राजदूतावासले भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सवको अवसरमा यी परियोजनाहरुको उद्घाटन गरिएको जनाएको छ । सन् २००३ यता भारतले नेपालमा पाँच सय २७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ । यस्तै, स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातैवटा प्रदेशमा चार सय ७० वटा परियोजना सम्पन्न भइसकेका छन् ।
जिल्ला समन्वय समितिको समन्वयमा भएको
कार्यक्रममा कपिलबस्तु क्षेत्र नं. २ का सांसद बृजेश कुमार गुप्ता, महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम खाँ, उप प्रमुख रीता चौधरी, लगायतको सहभागिता रहेको थियो ।