संस्कार विज्ञान : गर्भमै भाषाज्ञान

संस्कार विज्ञान : गर्भमै भाषाज्ञान

अमेरिकामा एक गर्भवती महिलाले आफूलाई मन पर्ने गीत सधैँ सुन्ने गर्थिन् । पछि उनको गर्भबाट जन्मिएको बच्चा बोल्न थालेपछि उसले आफ्नी आमाले गाउने गरेको पूरै गीत गाइदियो । यसबारेमा अनुसन्धान हुँदा थाहा भयो कि बच्चाले सो गीत गर्भमा हुँदै सुनेको रहेछ । यसबाट के थाहा हुन्छ भने, परिवारका सदस्यले कस्तो बोल्छन् भन्ने कुरा बच्चाले जन्मनुभन्दा अगाडि नै सिक्न सक्ने रहेछ ।

गर्भमा भएको बच्चाले बाहिरको आवाज सुन्छ भन्ने कुरा फिनल्यान्डको हेलसिन्की विश्वविद्यालयले गरेको एक शोधमा समेत पत्ता लागेको छ । बच्चा जन्मिदा ऊ पूर्णरुपमा मानसिक एवं बौद्धिकरुपमा शून्य हुँदैन भन्ने कुरा सो विश्वविद्यालयको शोधले पुष्टि गरेको छ । सो विश्वविद्यालयकी प्रोफेसर मिन्ना जोहन्ना हुओटिलाइनेन भन्छिन्, ‘बच्चा पदार्पण हुँदा खाली प्लेटजस्तो हुँदैन, परिवारका सदस्यले कसरी बोल्छन् भन्ने कुरा सो बच्चाले आफू पैदा हुनुभन्दा पहिले नै सिकिसकेको हुन्छ ।’

यसबाट भन्न सकिन्छ कि बच्चा गर्भमा हुँदा पनि उसलाई पारिवारिक संस्कारको प्रभाव परेको हुन्छ । बच्चाले गर्भमा रहँदा बाहिरको आवाज सुन्ने भए पनि त्यसलाई विश्लेषण गर्न सक्ने क्षमता भने उसमा हुँदैन । बच्चा जन्मिएपछि बिस्तारै उसको मस्तिष्क परिपक्व हुँदै जाँदा गर्भमा रहँदा र जन्मिएपछि सुनेका शब्दहरु बोल्न थाल्छ । राम्रो शब्द होस् वा नराम्रो, गर्भमा हुँदा धेरैपटक सुनिराखेको छ भने जन्मिएपछि त्यस्ता शब्द उसले छिटो बोल्न थाल्छ ।

हेलसिन्की विश्वविद्यालयले गरेको यस अध्ययनमा गर्भ रहेको २९ हप्ता पुगेका ३३ महिलाले भाग लिएका थिए । उनीहरुमध्ये आधाजति गर्भिणीहरुलाई टाटा शब्दको रेकर्ड बारम्बार सुनाउने गरिएको थियो । जो–जो गर्भिणीलाई यो शब्द बारम्बार सुनाइएको थियो, तिनीहरुका बच्चा जन्मेर बोल्ने भएपछि यो शब्द सजिलै र चाँडै बोल्न सकेका थिए ।

प्रोफेसर हुओटिलाइनेनले सल्लाह दिएकी छन्, ‘गर्भावस्थाका दौरान आफ्नो पेटभित्रको बच्चासँग समेत गफ गर्ने गर्नुस् ।’ शिशु गर्भमा हुँदा उसकी आमाको सोच–विचार, घरको वातावरण, परिवारमा बोलिने शब्दहरुको शिशुमा गहिरो प्रभाव पर्छ । घरमा झगडा परिरहने र जथाभावी बोल्ने आमा–बाबुका हुनेवाला बच्चामा यसको नराम्रो असर पर्न सक्छ । त्यसैले हरेक परिवारले यी कुराहरुमा ख्याल गर्नुपर्ने हुन्छ ।

वासिङ्टन विश्वविद्यालयकी एक स्पीच रिसर्चर पेट्रिसिया कुहलले पनि यस अध्ययनको स्वीकार गर्दै भनेकी छन्, ‘भाषा सिक्ने कुरा जन्मेको पहिलो दिनदेखि मात्र नभएर गर्भमा रहँदा ध्वनि सुनेदेखि नै हुन्छ । भ्रूणको मस्तिष्कमा यो क्षमता हुन्छ भन्ने कुरा आश्चर्यजनक नै छ ।’
महाभारतमा चक्रव्यूह तोड्ने कला अभिमन्युले गर्भमै रहँदा पिता अर्जुनबाट सुनेको कथा आउँछ । तर चक्रव्यूहबाट फर्कने कला सुन्ने बेलामा आमा निदाएकाले गर्भमा रहेका अभिमन्युले पनि सुन्न नसकेको कथामा आउँछ । त्यसैले फर्कने कला सिक्न नपाएकाले उनी चक्रव्यूहभित्रै मरेका थिए । यस कुरालाई हेलसिन्की विश्वविद्यालयमा गरिएको अनुसन्धानले केही हदसम्म प्रमाणित गरिदिएको छ ।

ठूलो परिवारमा जन्मेको बच्चाले चाँडै बोल्न सक्छ । बाबु–आमालगायत परिवारका सदस्यले बोलेका शब्दहरु उसले गर्भभित्रै बारम्बार सुनेको हुन्छ । तर उसको शारीरिक अवस्था विकसित भई नसकेकाले प्रतिक्रिया जनाउन भने सकेको हुँदैन । साथै मस्तिष्कसमेत पूर्ण विकसित नहुँदा उसले त्यसको विश्लेषण गर्न पनि सकेको हुँदैन । पछि जन्मिएपछि भने उसको मस्तिष्क बिस्तारै परिपक्व हुँदै जाँदा गर्भमा सुनेका शब्द बोल्न सक्छ ।

गर्भधारणको अवधिमा ठूलो स्वर गरेर अपशब्द बोल्ने, झगडा गर्ने, चर्को स्वरमा म्युजिक बजाउने गरेमा गर्भको बच्चामा नराम्रो प्रभाव पर्ने हुँदा सकेसम्म मुधुर वाणी बोल्ने गर्नुपर्छ । चर्को आवाजले शिशुको कानमा असर परी जन्मै कान नसुन्ने नहोला भन्न सकिन्न । गर्भमा रहँदा सुनेका शब्दहरु पछि बच्चाले छिटो बोल्न सक्ने हुँदा परिवारमा मीठा र मधुर वाणीहरु बोल्नुपर्ने अनुसन्धानले सुझाएको छ ।

गर्भ रहेको २३ हप्तादेखि शिशुले विशेष गरी आमाको आवाजलाई रेस्पोन्स गर्न थाल्छ । त्यसैले यस अवस्थामा मधुर गीत, कविता सुनाउने गर्दा शिशुको मस्तिष्क विकास हुन थप मद्दत पुग्छ ।

<

p style=”text-align: justify”>

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *