भरत केवट को रचना “मेरो देश “

लेखक : भरत केवट

शिक्षक श्री भवानी मा.वि. मान्बु, गोरखा ।

पाएको मैले जीवन मेरो घर हो यो देश
सेवा हो धर्म माटोले मेरो दिएको सन्देश
सुन्दर देश विकास यहाँ नगरी हुँदैन
तिमी र हामी नलागे सबै यो देश बन्दैन

हिउँका डल्ला पगाल्छ यहाँ हिमाल शिरैमा
तुफान आँधी आएमा सबै सहन्छ छातीमा
हरियो भोटो पहेँलो जामा छाती र पाउमा
लोभिन्छ मन सबैको हाम्रो सुन्दर शृष्टिमा

पहेलो सुन तराई हाम्रो अन्नको भण्डार
जहान पाल्न गरौँ है हामी कृषि र व्यापार
नदी र नाला देशका हाम्रा शिरा र धमनी
सलिल यहाँ सञ्चार गर्ने हुन् हाम्री जननी

तराई हाम्रा, पहाड राम्रा हिमाल हाँसेको
गरिब देश विकास गर्न छौँ हामी लागेको
यो मेरो देश कति छ राम्रो विश्वमा चम्केको
छन् धेरै खुसी नेपाली जन किन हो भुलेको?

चन्द्र र सूर्य लिएर ध्वजा अघि छौँ बढेका
भेद र भाव छोडेर हामी प्रेमले बसेका
सुख र दुःख बाड्दछौँ हामी नाचेर गाएर
नेपाली हामी बाँच्दछौँ यहाँ गौरव गरेर

जनक बुद्ध भृकुटी सीता देशका आदर्श
सहिद हाम्रा सिकाइ गए आँट र सङ्घर्ष
पूर्वमा मेची पश्चिम्मा काली पुर्याए सिमाना
दक्षिण भारत तिब्बत हाम्रो उत्तर दिशामा

उदेक लाग्छ जमात देख्दा विदेशी दासका
निर्लज्ज हामी बोल्दैनौँ केही सीमाना मिचिदा
उर्वर भूमि ओखती मूल यहाँ छ भण्डार
त्यसैले होला गडेको यहाँ विश्वको नजर

जात र धर्म पेशा र वर्ण छन् यहाँ अधिक
श्रमको पूजा गरिन्छ यहाँ एक र अनेक
धनी छँैं हामी यहाँका जन प्रकृति धनले
गर्दछ यहाँ शिखर चुम्ने कल्पना मनले

तन र मन अपर्ण गर्दछौं नेपाली धर्तीमा
बढ्दछौँ अघि उचाली खुट्टा यहीँको धुलोमा
धर्तीको माटो देखाउँछ बाटो नेपाली मनमा
तिर्नेछौँ ऋण माटोको हामी मानव जूनीमा

Leave a Comment

Your email address will not be published. Required fields are marked *