पोखरा । पोखरा १३ स्थित जनकल्याण समितिले शनिबार ४१ औं वार्षिकोत्सव मनाएको छ । नेपाल सरकारका पूर्व प्रशासक कृष्णप्रसाद भण्डारीले कार्यक्रम उद्घाटन गरे ।

कार्यक्रममा शैक्षिक पुरस्कार वितरण तथा ज्येष्ठ नागरिक सम्मान गरियो । रामबहादुर÷लक्ष्मी कार्कीद्वारा स्थापित रामलक्ष्मी शैक्षिक पुरस्कार एसइईमा उत्कृष्ट नतिजा ल्याउने समिति सदस्यका छात्रामध्ये कविता तिमिल्सिनालाई प्रदान गरियो । रमेशकुमार/ममतादेवी झाद्वारा स्थापित अक्षयकोषमार्फत् विन्देश्वर मिथिला झा शैक्षिक पुरस्कार समितिका सदस्यका १२ मा उत्कृष्ट नतिजा ल्याउने छात्र गौरव क्षेत्रीलाई प्रदान गरियो ।
यस्तै, समितिका ज्येष्ठ आजीवन सदस्यहरु त्रिलोचन घिमिरे, विष्णुकुमारी थापा, देवराज बराललाई नगद, दोसल्ला र प्रमाणपत्रले सम्मान गरियो ।
कार्यक्रममा नेपाल सरकारका पूर्व प्रशासक भण्डारीले समितिको सफलताका लागि एकता र सक्रियाता वृद्धि हुनुपर्नेमा जोड दिए । संस्थाका पूर्व अध्यक्ष प्रा.तारा बरालले जुन उद्देश्यले संस्थाको स्थापना भएको थियो सोहीअनुसार सक्रिय बनाउँदै अघि बढ्न सुझाव दिए ।
संस्थाका अध्यक्ष देवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्व त्रिलोचन घिमिरे, जलेश्वर बहुद्देश्यीय संस्थाका अध्यक्ष भीमबहादुर बराल, सत्य सेवा आमा समूहकी अध्यक्ष जमुनादेवी श्रेष्ठ, अक्षयकोषदाताका तर्फबाट स्व. रेशमबहादुर स्मृति जनकल्याण अक्षयकोष दाता तीर्थबहादुर बस्नेत लगायतले बोलेका थिए । वक्ताहरुले दुखका समयमा स्थापना भएको संस्थाले प्रशंसनीय काम गरिरहेको भन्दै सुखदुखमा साथसाथै अघि बढ्न प्रेरणा दिएको बताए ।
संस्थाका अध्यक्ष देवराज बरालले पोखरा १३ मा ४८ वटा टोल विकास संस्था रहेको बताउँदै सबैको साझा संस्थाको रुपमा जनकल्याण समितिलाई अघि बढाउन समन्वय गर्ने उल्लेख गरे । उनले युवा विकास उपसमिति तथा महिला विकास उपसमिति निस्क्रिय भएको भन्दै सक्रिय गराइने बताए । संस्थाका सचिव विनोदराज आचार्यले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक विष्णु कार्कीले स्वागत गरेकी थिइन् ।
वार्षिकोत्सव कार्यक्रमअन्तर्गत समितिले ५ दिने कार्यक्रम सञ्चालन गरेको थियो । मंसिर १९ गते सरसफाइ, २० गते संस्था भवन रङरोगन तथा मर्मत, २१ गते प्रभात फेरी, २२ गते ४१ दीप प्रज्ज्वलन गरेको थियो ।