पुसे मेलामा भलिबल र ब्याडमिन्टन हुने

पुसे मेलामा भलिबल र ब्याडमिन्टन हुने

ताप्लेजुङ ।

ताप्लेजुङमा आइतबारदेखि पुसे मेला स्वर्ण महोत्सव २०८० सुरु भएको छ। जिल्लाकै दोस्रो ठुलो बजार मेरिङदेन र आठराईत्रिवेणी गाउँपालिको संगम स्थल दोभानबजारमा मेला सुरु भएको हो।

दोभान स्पोर्टिङ क्लब तथा पुसे मेला स्वर्ण महोत्सव व्यवस्थापन समितिको संयुक्त पहलमा मेला आयोजना गरिएको छ। आगामी पुुस ५ गतेसम्म जारी रहने मेलाको उद्घाटन कोशी प्रदेश सभा सदस्य खगेनसिंह हाङगामको प्रमुख आतिथ्यतामा गरिने समितिका अध्यक्ष हेम सिरिङ चोङबाङले बताए।

५० वर्ष देखि ताप्लेजुङको दोभानमा लाग्दै आएको पुस मेलामा यस वर्ष राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको सहभागितामा अन्तर जिल्ला क्लब स्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुँदैछ।

भलिबलमा चर्चित मानिएका नाम्चे भलिबल क्लब नाम्चे बजार साउथ सिकिम, भारत, नगर खेलकुद विकास समिति, गलकोट बाग्लुङ, भोजपुर भलिबल क्लब भोजपुर, पाथीभरा टाइगर भलिबल क्लब दमक झापा, सङ्खुवासभा भलिबल क्लब सङ्खुवासभा, सुनसरी जिल्ला भलिबल टिम र उदयपुर स्पोर्ट्स क्लब आमन्त्रित क्लबको रुपमा सहभागी हुने भएका छन्।

गृह जिल्लाको तर्फबाट मुकेश मेमोरियल क्लब र हिमाली तोक्पेगोला भलिबल क्लबले सहभागिता जनाउने आयोजकले जनाएको छ।

प्रत्येक टिमले २ जना राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी समेत सहभागी गराउन पाउने नियमानुसार यो प्रतियोगितामा सहभागी टिमले सो स्तरको खेल खेलेका खेलाडी समेत सहभागी गराउने सूचना प्राप्त भएको आयोजकले बताएको छ।

प्रतियोगिताको विजेताले तीनलाख रुपैयाँ र उपविजेता टिमले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सेमिफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई नगद ५० हजार रुपैयाँ दिइनेछ।

भलिबल प्रतियोगितातर्फ सर्वोत्कृष्ट हुने खेलाडी नगद १० हजार तथा सर्भर, डिफेन्डर, ब्लकर, सटर, उदयमान खेलाडी, प्रशिक्षकमा उत्कृष्ट हुने प्रत्येकले ५/५ हजार नगद प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलका म्यान अफ द म्याचले नगद दुई हजार रुपैयाँ प्राप्त गर्नेछन्।

भलिबल खेलसंगै त्यहाँ ब्याडमिन्टन प्रतियोगिता पनि आयोजना गरिने आयोजक कमिटीले जनाएको छ। ब्याडमिन्टन प्रतियोगिताको पुरस्कारका लागि एकलाख रुपैयाँ बिनियोजन भएको र जिल्ला ब्याडमिन्टन संघ सँगको प्राविधिक सहयोगमा विधागत पुरस्कार घोषणा गरिने समेत मेला आयोजक कमिटीले जानकारी दिएको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *