पोखरा । अन्नपूर्ण ९, तिखेढुंगास्थित भगवती माविमा मंगलबार कमसार्की सुनकुमारी गुरुङ एजुकेसन फाउन्डेसन ट्रस्टले विद्यार्थी तथा शिक्षकलाई स्टेसनरी एवं गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार प्रदान गरेको छ ।

कार्यक्रममा ट्रष्टका संस्थापक रामबहादुर गुरुङ तथा मधु गुरुङले विद्यार्थीमा पढाइप्रति चासो बढाउन र शैक्षिक उपलब्धि सुधारका लागि २०७२ सालदेखि बर्सेनि सहयोग तथा पुरस्कार प्रदान गर्दै आएको बताए ।
प्रत्येक कक्षाबाट ‘बि’ ग्रेड वा सोभन्दा माथिल्लो ग्रेड ल्याई उत्कृष्ट ३ विद्यार्थीलाई नगद पुरस्कार प्रदान विद्यालयका करिब १ सय ५० विद्यार्थी तथा कार्यरत १५ शिक्षकलाई समेत स्टेसनरी सहयोग गरिएको हो ।
प्राथमिक तहतर्फ कक्षा ४ की सोनी गुरुङ, उत्कृष्ट गृहकार्य गर्ने कक्षा २ का सौगात बिक र प्राथमिक तहतर्फ सर्वोकृष्ट विद्यार्थी अंकिता गुरुङलाई पुरस्कृत गरिाये । कार्यक्रममा कमसार्की गुरुङ तथा सुनकुमारी गुरुङका साहिंला छोरा कुमबहादुरले भगवती माविमा कक्षा १२ सम्मको पढाइ सुरु भएकोप्रति हर्ष व्यक्त गरे ।
ट्रष्टका अध्यक्ष रामबहादुर गुरुङले आगामी वर्ष ट्रस्टले स्थापनाको १० औं वर्ष मनाउन लागेको बताउँदै सन् २०२४ अक्टोबर १९ मा विशेष समारोहको आयोजना गर्ने बताए । उनले विद्यार्थीलाई उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरी पुरस्कृत हुन र अभिभावकको लगानीलाई सम्मान गर्न सुझाव दिए । उनले भने, ‘मैले यो लगानी नितान्त मेरो खातामा भएको रकमबाट मेरा स्वर्गीय बुबा आमाको सम्मानमा गरेको हुँ । तपार्इँहरुका अभिभावकले तपाईँहरुको उत्कृष्ट शिक्षाको लागि निरन्तर लगानी गरिरहनुभएको छ । मलाई आशा छ, हाम्रो लगानीको कदर गर्दै आफ्नो भविष्य सुन्दर बनाउन लागिपर्नुहुनेछ ।’
कार्यक्रममा प्रअ चन्द्रकुमारी गुरुङले स्वागत तथा शिक्षक खेमबहादुर पुनले सञ्चालन गरेका थिए ।