पद्मकन्यामा हाउडे मायाको सांगीतिक हंगामा (तस्बिरसहित)

पद्मकन्यामा हाउडे मायाको सांगीतिक हंगामा (तस्बिरसहित)

काठमाडौं ।

पद्मकन्या क्याम्पसको चौरमा शनिबार विन्टर कार्निभल चलिरहेको थियो। चौरमा उभिएर माथितिर हेर्दा आकाशमा कपासका टुक्रा जसरी छरिएका बादल देखिन्थे।

वातावरणमा घरि मन्द चिसो बतास हावी हुन्थ्यो त घरि न्यानो घामले चिसोपनालाई जितिदिन्थ्यो। यस्तो भान भइरहेको थियो कि मानौं मानिसस“ग सूर्यले लुकामारी खेलिराखेको छ।

साँझतिर घाम डुब्ने तरखर गर्दै गर्दा थप चिसो अनुभूति भइरहेको थियो। जब घडीले त्यस्तै सवा चार बजायो, कार्यक्रम सञ्चालकले गायिका सिर्जना खत्री (हाउडे माया) लाई आफ्नो प्रस्तुति पस्कन मञ्चमा आमन्त्रण गरे, तब दर्शकले चिच्याएर उनलाई स्वागत गरे।

लगत्तै गायिका खत्रीले स्टेजमा चढेर आफ्ना गीतका केही टुक्का बिना ट्रयाक नै गाउन थालिन्। कक्षाकोठामा विद्यार्थीले गुरुलाई कण्ठ पारेर पाठ सुनाए जसरी नै दर्शक दीर्घामा रहेका युवायुवतीले पनि सिर्जनाका गीत कण्ठै गाएर साथ दिए।

सिर्जनाले शिकारी नारी, मेरो एक्सको छम्मा र डबल मायाजस्ता गीत गाइरहँदा क्याम्पस प्रांगणको वातावरण संगीतिको ऊर्जाले भरिएको थियो। साँझको चिसो वातावरणलाई सिर्जनाको प्रस्तुतिले तताइदियो। सिर्जनाको सांगीतिक प्रस्तुतिले दर्शकले जाडो भुले र सँगसँगै उनको गायनमा झुले।

पद्मकन्या क्याम्पसको आयोजना रहेको कार्निभलमा अन्य कलाकार तथा छात्राले पनि आफ्नो सांगीतिक प्रस्तुति पस्किएका थिए। विन्टर कार्निभलमा त्यसका अलावा खाना, सौन्दर्य सामग्री र विभिन्न खेलका स्टल पनि राखिएका थिए। कार्यक्रममा लोकप्रिय सेफ सन्तोष शाह पनि आकर्षणको केन्द्र बनेका थिए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *