पोखरा । कास्कीको रुपा गाउँपालिका – ६ रुपाकोटमा रुपाकोट पोखरा सम्पर्क मञ्चको आयोजनामा विद्यार्थी, अभिभावक र शिक्षकका लागि कानुनी सचेतना कार्यक्रम शुक्रबार भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले समाजमा अपराध भइसकेपछि कारवाही गर्नुभन्दा अपराध नै हुन नदिनका लागि सबै नागरिक सचेत हुनुपर्ने बताए । समाजमा पछिल्लो समय लागु औषध दुव्र्यसनीका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले लागु औषधवाट व्यक्ति र परिवार मात्रै नभई सिंगो समाज नै प्रभावित हुने बताए ।
सामाजिक सञ्जालको सहि सदुपयोग नहुँदा समाजमा शान्ति,सुरक्षा कायम राख्न चुनौती थपिएको उल्लेख गर्दै उनले भने, ‘फेसबुकमा लेखेको सानो सूचनाको कारणले व्यक्तिको जीवन नै तहसनहस हुने गरेको छ । व्यक्तिको गोपनियताको हकको समेत ख्याल नगरी जथाभावी सामाजिक सञ्जालमा लेख्नेलाई कानुनी दायरामा ल्याउन पर्छ,’ उनले भने, ‘जेल जानु भनेको अपराधी दण्डित हुनु हो, पीडितले न्याय पाउनु होइन् ।’ राज्यले महिलाको हक अधिकारलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै समाजमा विद्यमान लैंगिक विभेदको अन्त्यका लागि सबैले आवाज उठाउनु पर्नेमा जोड दिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले समाजमा शान्ति कायम गर्न प्रहरी २४ सै घण्टा खटिएको बताए ।
रुपाकोट पोखरा सम्पर्क मन्चका अध्यक्ष सरीता तिम्सिना पगेनीको अध्यक्षतामा भएको कार्यक्रममा चन्द्रप्रभा मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सवावक्स मियाँ, रुपाकोट पोखरा सम्पर्क मञ्चका सल्लाहकार क्याप्टेन कृष्ण थापा लगायतले बोलेका थिए ।
कार्यक्रममा प्रहरी वरिस्ठ नायव निरीक्षक होतबहादुर रोकाहाले लागु औषध, मानव बेचबिखन, घरेलुु हिंसा, मादक पदार्थ सेवन, साइबर अपराध, बाल विवाह लगायतका विषयमा सहजीकरण गरे ।
चन्द्रप्रभा माविका शिक्षक मोहम्मद मोहसिन मियाँले सञ्चालन गरेको कार्यक्रममा रुपाकोट पोखरा सम्पर्क मञ्चका उपाध्यक्ष शेर अलि मियाँले स्वागत गरे । कार्यक्रममा चन्द्र प्रभा माविका विद्यार्थी, अभिभावक र शिक्षकहरुको सहभिागता थियो ।




