
भवन उद्घाटन गर्दै माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले अतिरिक्त देखि शिक्षणसिकाइ क्रियाकलाप लगायतले विद्यालय सबल बन्दै गएको चर्चा गर्दै सामुदायिक विद्यालयको हकहितलाई पालिकाले प्राथमिकतामा राखेको उल्लेख गरे ।
शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले व्यवहारिक शिक्षाको महत्वमाथि प्रकाश पार्दै विकासको मुख्य खुड्किलो नै गुणस्तरीय शिक्षा भएको औंल्याए ।
गाउँपालिका सामाजिक विकास समिति संयोजक हरिबहादुर क्षत्रीले शिक्षाको विकासमा पालिका प्रतिबद्ध रहेको सुनाए । नेपाल राष्ट्रिय अभिभावक संघ कास्की अध्यक्ष गोपाल गिरीले व्यावसायिक शिक्षा प्रदान गरी युवा पिंढीलाई स्वदेशमै रोक्न सक्नुपर्नेमा जोड दिए ।
वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक दुर्गाबहादुर रावतले गुणस्तरीय शिक्षाका लागि विद्यालय प्रयासरत रहेको औंल्याए । उनले विद्यार्थीको शैक्षिक तथा अतिरिक्त क्रियाकलावका लागि विद्यालय लागिपरेको स्पष्ट पारे ।
कार्यक्रमका बीच विद्यार्थीको प्रतिभा प्रस्फुटन, नेतृत्व तथा व्यक्तित्व विकासका लागि विद्यालयले विभिन्न समयमा आयोजना गरेका विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कृत गरियो । त्यस्तै विभिन्न व्यक्ति तथा संस्थाबाट स्थापित छात्रवृति पनि वितरण गरियो । विद्यालयका अध्यक्ष भरतराज अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षक जीतबहादुर क्षत्रीले स्वागत तथा सहायक प्रधानाध्यापक सोमनाथ लामिछानेले सञ्चालन गरे ।




