स्याङ्जा । ‘म विद्यार्थीका लागि, विद्यार्थी मेरो लागि’ विषयक शिक्षकबीच भएको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा पुतलीबजार नगरपालिकाका ज्योति थापा प्रथम भएकी छन् ।

प्रतिस्पर्धी १० जना शिक्षकलाई उछिन्दै थापा प्रथम भएकी हुन् । जिल्लाबाट प्रथम हुने उनले पुस २७ र २८ गते पोखरामा आयोजित प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा सहभागी हुने छिन् ।
कालीगण्डकी गाउँपालिकाका रामप्रसाद पाण्डे द्वितीय र भिरकोट नगरपालिकाका कृष्णप्रसाद पौडेल तृतीय भए । प्रथम, द्वितीय र तृतीयलाई जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख विश्वराज आचार्य, सामाजिक विकास कार्यालयका अधिकृत शोभाचन्द्र रेग्मीले नगदसहित प्रमाणपत्रले पुरस्कृत गरे ।
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत मंगलबार स्याङ्जाका १० पालिकाका शिक्षकबीच प्रतियोगिता भएको हो ।
प्रतियोगितामा पुतलीबजार नगरपालिकाबाट ज्योति थापासहित भीरकोटबाट कृष्णप्रसाद पौडेल, वालिङबाट भोजकुमारी पाण्डे, गल्याङबाट गीता अधिकारी, चापाकोटबाट चण्डीप्रसाद पंगेनी, र आँधीखोला गाउँपालिकाबाट हुमबहादुर पौडेलसहित फेदिखोलाबाट शोभाकान्त शर्मा, अर्जुनचौपारीबाट नवीनकुमार जिटी, बिरुवाबाट ढाकाराम न्यौपाने, कालीगण्डकीबाट रामप्रसाद पाण्डे सहभागी भएको निर्णायक समिति संयोजक खडानन्द अर्यालले बताए ।
पालिकामा आयोजित प्रतिस्पर्धामा प्रथम स्थान प्राप्त गर्ने शिक्षकमात्र जिल्लास्तरीय प्रतियोगितामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाइका लेखा अधिकृत टंक बरालले बताए ।
शिक्षक वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीबीच भएको थियो । विद्यार्थीले शिक्षकका वक्तृत्वकला सुनेका थिए ।