फूलबारी मन्टेसरीमा स्पोर्टस् डे

पोखरा । फूलबारी मन्टेसरी कटेजमा दसौं स्पोर्टस् डे शनिबार सम्पन्न भएको छ । कन्या माविको खेल मैदानमा आयोजना गरेको कार्यक्रममा टोडलर, नर्सरी, एलकेजी, युकेजी, ग्रेड १, ग्रेड २ र ग्रेड ३ का विद्यार्थीले विभिन्न प्रकारका खेल र योगाभ्यास प्रदर्शन गरे । उक्त अवसरमा प्रत्येक कक्षाका विजेता विद्यार्थीलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा पोखरा ३ का वडाध्यक्ष प्रकाशमान उदासले बालबालिकाको सुन्दर भविष्य निर्माणका लागि फूलबारी मन्टेसरी उदाहरणीय रहेको बताए । वडामा अन्य सामुदायिक विद्यालय पनि रहेका र त्यहाँ शिक्षालाई राम्रो बनाउन कसरी समन्वय गर्न सकिन्छ भन्ने बारेमा विधि, तरिकाहरु हस्तान्तरणको खाँचो रहेको उनले बताए । विशेष अतिथि जिल्ला शिक्षा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले मन्टेसरीहरु थुप्रै खुलेका भए पनि उनीहरु मन्टेसरीको वास्तविक मान्यता अनुसार चल्नु पर्नेमा जोड दिए ।

अभिभावकहरुको तर्फबाट सिरोजविजय कोइरालाले विद्यालयले देश सुहाउँदो नागरिक, देश चिन्न सक्ने नागरिक उत्पादन गर्नुपर्ने, आधुनिक समयको पढाइसँगै देशको बारेमा यावत पढाइको आवश्यकतामा जोड दिए ।

प्रिन्सिपल अरुना शेरचनले विद्यार्थीसँग हाँस्दै खेल्दै, सिक्दै सिकाउँदै गरेको पनि २३ वर्ष भइसकेको बताइन् । उनले स्थापनाको समयबाटै कसरी उत्कृष्टता हासिल गर्ने भनेर लागिपरेको बताइन् । उनले स्थापना कालबाटै वर्षमा एकपटक खेलकुदका मात्रै कार्यक्रम र एक वर्ष सांस्कृतिक कार्यक्रम गर्दै आएको जानकारी गराइन् ।

अभिभावकको प्रगाढ मायाको कारण यहाँसम्म आएको र आगामी दिनहरुमा पनि उत्कृष्टता हासिल गर्ने लक्ष्यमा पुग्नका लागि सल्लाह, सुझाव दिन शेरचनले अनुरोध गरिन् ।
कार्यक्रमको आरम्भका विद्यार्थीले मार्चपास गरेका थिए । चियरिङ डान्स, चेयर योगा, नमस्ते व्यायाम, टोडलर बेबी सार्क, हनि हन्टिङ रिले, जेलि फिस रेस रिले, नक नक बफेलो रिले, मिक्समाक्स गेम कार्यक्रममा समावेश गरिएको थियो ।

कार्यक्रममा सहभागी सबैलाई स्कुलका निर्देशक जीवनकुमार शेरचनले धन्यवाद व्यक्त गरे भने कक्षा ३ का विद्यार्थीले राष्ट्रभावको गीतमा नृत्य प्रस्तुत गर्दै कार्यक्रमको समापन गरिएको थियो । कार्यक्रम सञ्चालन शिक्षिका सुनिता बास्तोलाले गरेकी थिइन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top