पोखरा । पोखरा विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले स्वास्थ्य विज्ञान संकायमार्फत सञ्चालनमा ल्याउन लागेको बिएस्सी मेडिकल इमेजिङ टेक्नोलोजी (विएस्सी एम आइटी) पाठ्यक्रमलाई अन्तिम रुप दिन कार्यशाला गरेको छ ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा. पूर्णबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रम पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन डा. अमर नागिलाको प्रमुख आतिथ्यमा भएको हो ।
स्वास्थ्य विज्ञान संकायअन्तर्गत नर्सिङ, फार्मेसी जनस्वास्थ्य, मेडिकल ल्याब टेक्नोलोजी, फिजियोथेरापी र अप्टोमेट्री विषय सञ्चालन गरिरहेको र हाल विभिन्न रोग निदानका लागि रोगबारे सही जानकारीका लागि आवश्यक विषय पोखरामा पढाइ हँुदा यस क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादन हुने विश्वास विश्वविद्यालयले लिएको स्वास्थ्य विज्ञान संकायका डिन डा. अमर नागिलाले बताए ।
डिन डा. नागिलाले यस पढाइले विभिन्न रोग पत्ता लगाउन अत्याधुनिक उपकरण प्रयोग गर्ने र सोको आधारमा रोगको निदान सहज ढंगबाट गर्न सहजीकरण गर्ने विषय भएकाले गर्दा विषयवस्तुको आवश्यकतादेखि विश्वविद्यालयले कार्यक्रम सञ्चालन गर्न लागेको प्रस्ट पारे ।
कार्यशालामा बिएस्सी एम आइटी विषय समिति अध्यक्ष प्राडा गणेशबहादुर पोखरेल, पोविवि रिसर्च सेन्टरका कार्यकारी निर्देशक डा.नमराज धामी, स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका निर्देशक विमला भट्ट, गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिना लगायतको उपस्थिति थियो ।
चिकित्सा शिक्षा ऐनको व्यवस्थाबमोजिम स्वास्थ्य क्षेत्रका विविध कार्यक्रम सञ्चालनका लागि आफ्नै १ सय बेडको अस्पताल आवश्यक पर्ने भएकाले विश्वविद्यालयले पोखरा ३० मा आफ्नै एक सय बेडको अस्पताल स्थापना गरी सञ्चालन तयारी गरेको छ । उच्च शिक्षामा विद्यार्थीको संख्या राष्ट्रव्यापी रुपमा कम रहे तापति स्वास्थ्य विज्ञान संकायमा भने हाल विद्यार्थीको चाप उल्लेख्य रहेको उपप्राध्यापक विजय सुवेदीले बताए ।