रोमाञ्चले भरिएको महाजात्राको ट्रेलर

रोमाञ्चले भरिएको महाजात्राको ट्रेलर

काठमाडौं ।

जात्रा र जात्रैजात्राको सफलतापछि निर्माण गरिएको फिल्म महाजात्राको रोमाञ्चक ट्रेलर आइतबार राजधानीमा एक समारोहबीच सार्वजनिक गरिएको छ।

ट्रेलरमा आपत्कालीन रूपमा पैसा व्यवस्थापन गर्न आइपर्ने अवस्था प्रस्तुत गरिएको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, बुद्धि तामाङ, रमा थपलिया, शिशिर वाङ्देल, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडालगायत मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ।

ट्रेलरमा ख्यातिप्राप्त हास्यंव्यग्य अभिनेता हरिवंश आचार्यलाई खल भूमिकामा देखाइएको छ। पौने चार मिनेटको ट्रेलरले फिल्मप्रतिको कौतूहलता बढाइदिएको छ।

अभिनेता आचार्यले आफूलाई जात्रा शृंखलामा जोडिन मन लागेको र अहिले आएर पूरा भएको बताए। ‘मलाई यो फिल्ममा अभिनय गर्ने इच्छा थियो। म एक भ्रष्ट नेताको भूमिकामा छु। मैले निर्धक्क विश्वास गर्ने निर्देशक भट्टराई र जोसिला युवाको समूह भएकाले पनि अभिनय गरें,’ हरिवंशले सुनाए, ‘यसलाई सामाजिक सन्देशलाई मनोरञ्जनात्मक रूपमा भनेका छौँ। यसले हाम्रो विकृति र त्यसले समाजमा परिरहेको असरलाई पनि ऐनाझैँ देखाउँछ।’

फिल्मका निर्देशक तथा लेखक प्रदीप भट्टराईले सिचुएसनल कमेडीलाई दर्शकमाझ ल्याएर लोकप्रिय भएपछि फिल्मको तेस्रो भागलाई हतार गरेर नभई आइडिया फुरेपछि निर्माण गरिएको बताए।

‘म आफैँ पनि सिक्वेल बनाउनुपर्छ भन्ने पक्षमा छैन। तर, कथा फुरेपछि दर्शकसम्म लैजानुपर्छ भनेर निर्माण गरेका हौँ। हाम्रो ध्यान बक्सअफिसमा भन्दा दर्शकलाई राम्रो फिल्म कसरी दिने भन्नेमा केन्द्रित छ,’ निर्देशक भट्टराईले भने, ‘युवालाई बेरोजगारीले कसरी अपराधको बाटोमा लैजान्छ र त्यसमा कस्ता व्यक्तिले भूमिका खेलिरहेका हुन्छन् भन्ने फिल्ममा देखाएका छौँ। यसले के गर्न हुन्छ र हुँदैन भन्ने विषयमा पनि सोच्न बाध्य बनाउँछ।’

फिल्मका अभिनेता तथा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले आफ्नो फिल्मको प्रतिस्पर्धा आफैँसँग रहेको बताए। ‘व्यावसायिक होस् वा कलात्मक पाटोमा हाम्रो प्रतिस्पर्धा अन्यसँग नभई आफैँसँग छ। हामी दर्शकलाई राम्रो फिल्म दिइरहेका छौँ र आगामी दिनमा पनि दिनेछौँ। यो अघिल्ला सिरिजभन्दा कुनै हिसाबले कम बनेको छैन,’ बानियाँले भने।

फिल्म आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ रिलिज हुँदैछ। आपत्कालीन रूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने महाजात्राले फागुन २१ गतेदेखि पोखराबाट जिल्ला यात्रा सुरुआत गर्दैछ।

षट्कोण आर्टस्को ब्यानरमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलद्वारा निर्मित फिल्ममा जितबहादुर रुवाली एसोसियट निर्देशक, कुमार महर्जन द्वन्द्व निर्देशक, कविराज गहतराज, नृत्य निर्देशक, आशिष अविरल र कालीप्रसाद बास्कोटा संगीतकार र पुरुषोत्तम प्रधान छायाँकार रहेका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *