कपिलवस्तु, साउन १६
कपिलवस्तु जिल्लाका सामुदायिक क्याम्पसहरुमा भएको शुल्क बृद्धिको विरोध गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पब्लिक क्याम्पस संघ कपिलवस्तुलाई ज्ञापन पत्र बुझाएको छ ।
शुल्क वृद्धि हटाउन माग गर्दै अनेरास्ववियुले सोमबार पब्लिक क्याम्पस संघ कपिलवस्तुका अध्यक्ष डा. विनय पाण्डेयलाई ज्ञापन पत्र बुझाएको हो ।
विद्यार्थीहरुबाट शूल्क उठाएर मात्र सामुदायिक क्याम्पस चलाउनुपर्छ भन्ने मान्यता त्याग्नुपर्ने कुरामा जोड दिंदै अनेरास्ववियुले विषम परिस्थितीमा विद्यार्थीसँग चर्को शुल्क नलिन माग गरेको हो ।
अनेरास्ववियुका जिल्ला अध्यक्ष दयाराम पौडेलको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापनपत्रमा विद्यार्र्थी माथि हुने अन्याय, अत्याचारका विरुद्धमा संघर्ष र बलिदान गर्न जस्तोसुकै अवस्थामा पनि तयार रहने उल्लेख गरिएको छ ।
विद्यार्थीका रचनात्मक आन्दोलनलाई बेवास्ता गरी विद्यार्थीको ढाड सेक्ने गरी गरिएको शुल्क वृद्धिलाई खारेज नगरिए अझ कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्न वाध्य हुने समेत चेतावनी दिइएको छ । ज्ञापन पत्र बुझाउने कार्यक्रममा अनेरास्ववियुका जिल्ला उपाध्यक्ष अन्जित खनाल, जिल्ला सह–सचिव हेमराज खनाल , जिल्ला सदस्य विकास भुसााल र सिद्वार्थ क्याम्पस कमिटी अध्यक्ष पशुपति गिरी लगाएतको उपस्थिती रहेको थियो ।