कमलेशचन्द्र गुप्त , असोज ८ –
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. २ स्थित गल्लामण्डी क्षेत्रमा अबैध रुपमा नेपाल भित्र्याउन लागिएको ६२५ केजी किवी फलफुल प्रहरीले बरामद गरेको छ।
प्रहरीका अनुसार बिहान करिब ९:३० बजे भारतबाट भन्सार छली गरी चोरी निकासी पैठारी गरेर नेपाल ल्याएको २५ बोरा किवी बेवारिसे अवस्थामा फेला परेको हो। प्रत्येक बोरा २५ किलोका दरले जम्मा ६२५ किलो किवी फेला परेको छ।
बरामद गरिएको किवीको बजार मूल्य प्रतिकिलो ५०० रुपैयाँको दरले जम्मा ३ लाख १२ हजार ५ सय रुपैयाँ आँकलन गरिएको छ। अवैध व्यापारको रुपमा ल्याइएको यो किवीलाई नियन्त्रणमा लिई थप कानुनी कारवाहीका लागि भन्सार कार्यालय कृष्णनगरमा पठाइएको कृष्णनगरका प्रहरी प्रमुख सुरज खत्रीले बताएका छन ।