कार्तिक ६ ,कृष्णनगर ।
कपिलवस्तु, २०८१ कार्तिक ५ — कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकास्थित लिङ्गेट चेकपोस्टमा प्रहरीले स्रोत नखुलेको २० लाख ५० हजार भारतीय रुपैयाँ नियन्त्रणमा लिएको छ। प्रहरी चेकिङ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुई भाडाका गाडीहरू UP45AS6663 र UP42DT5721 लाई जाँच गर्दा यो रकम फेला परेको हो। UP45AS6663 नम्बरको गाडीमा सवार भारत महाराष्ट्रको रायगड जिल्ला, मुम्बई सिटीका ३३ वर्षीय सलमान कुरेसियाको झोलाबाट नगद भारतीय रुपैयाँ ८ लाख फेला परेको छ। त्यस्तै, UP42DT5721 नम्बरको गाडीमा सवार ३९ वर्षीय उमेश सखाराम खंडागलेको झोलाबाट १२ लाख ५० हजार भारतीय रुपैयाँ बरामद भएको छ।
कुल २० लाख ५० हजार भारतीय रुपैयाँको स्रोत नखुलेकोले दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।
प्रहरीका अनुसार यो रकमको स्रोत बारे थप अनुसन्धान भइरहेको छ। नेपाल-भारत सीमामा यस्ता घटनाहरू बढ्दो क्रममा रहेका कारण प्रहरीले चेकजाँच कडा बनाएको छ।