महेन्द्र यादव , २५ कार्तिक ।
कपिलवस्तु: दशै, तिहार र छठ पर्व लक्षित चाडपर्व सुरक्षा योजना अन्तर्गत कपिलवस्तु प्रहरीले फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गर्दै पछिल्लो डेढ महिनामा ८३ जना फरार प्रतिवादी पक्राउ गरेको छ। २०७८ असोज १३ देखि कार्तिक २५ सम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र मातहतका इकाइहरुले गरी कुल ८३ जना फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत कपिलवस्तुमा कारबाहीका लागि बुझाएको छ। यस अवधिमा ४८ वर्ष ५ महिना ४ दिन कैद र ४ लाख ८७ हजार ७७० रुपैयाँ जरिवाना असुल गरिएको छ। आज मात्रै १२ जना फरार प्रतिवादी पक्राउ परेका छन्। ईप्रका गोरुसिंगे मार्फत बिना इजाजत बन्यजन्तु (निलगाइ) सिकार मुद्दामा जरिवाना तोकिएका ११ जना र कृष्णनगर इकाइमार्फत जबरजस्ती करणी मुद्दामा जरिवाना ठहरिएका एक जना पक्राउ परेका जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।