
पौष ८ ।
देशको वर्तमान परिस्थिति निरन्तर जटिलतातर्फ उन्मुख रहेको भन्दै जनता प्रगतिशील पार्टी, नेपालले राजनीतिक दलहरूलाई सहकार्यको लागि आग्रह गरेको छ। पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा देशको अर्थतन्त्र गिर्दो अवस्थामा पुगेको, ग्रामीण जनजीवन अक्रान्त रहेको र जनतामा आशावाद खस्किएको उल्लेख गरिएको छ।
पार्टीले यो चुनौतीपूर्ण परिस्थितिमा राजनैतिक दलहरूबीच सहकार्य अपरिहार्य भएको ठहर गरेको छ। विशेष गरी जनता समाजवादी पार्टीका घटकहरू, लोकतान्त्रिक समाजवादी पार्टी, आम जनता पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टी लगायतका दलहरूसँग सहकार्यका लागि आग्रह गरिएको छ। यसै सन्दर्भमा, जनता प्रगतिशील पार्टीले डा. शिवजी यादवको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ। उक्त टोलीमा पूर्वमन्त्री ईश्वर दयाल मिश्र र मोहम्मद साबिर हुसेन सदस्यका रूपमा रहेका छन्। पार्टीले सहकार्य र समन्वयलाई मूर्त रूप दिनका लागि यो टोली गठन गरिएको जानकारी दिएको छ। विज्ञप्तिमा देशको आर्थिक तथा सामाजिक संकट समाधानका लागि राजनीतिक सहकार्यलाई मुख्य प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ।