
काठमाडौं: भारतको महाराष्ट्र राज्यस्थित जलगाउँ पाचोरामा बुधबार साँझ भएको रेल दुर्घटनामा मृत्यु हुने १३ जनामध्ये सात जना नेपाली रहेको पुष्टि भएको छ।
नेपाली मृतकमा अछामका चार, कैलालीका एक र दुईजनाको ठेगाना नखुलेको कन्सुलर प्रमुख तथा नेपाल प्रहरीका एसएसपी सञ्जीव शर्माले जानकारी दिएका छन्।
अछामका पञ्चदेवल विनायक नगरपालिका–४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा विक, छोरा हिमु विक र कलबजार नगरपालिका–४ चाल्साकी जयकला कामी घटनामा परेर ज्यान गुमाएका हुन्। यस्तै, कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टाकी कमला भण्डारी, बाँकेको डुडुवाका राधेश्याम राध र नारायणपुरका लच्छिराम पासी पनि मृतकको सूचीमा परेका छन्।
घटनामा अछामका मंगलसेनका ह्युजला सावन्त र धर्मबहादुर सावन्त तथा दैलेखका दीपक थापा र मञ्जु परियार घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ।
दुर्घटना कसरी भयो?
दुर्घटना लखनउबाट मुम्बईतर्फ जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगलागीको अफवाह फैलिएपछि भएको थियो। धूवाँ देखेपछि यात्रुहरू रेलबाट हाम फाल्दा, विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको कर्नाटक एक्सप्रेसले किचेको रेलवे अधिकारीले जनाएका छन्।
शव नेपाल ल्याउन पहल
नेपाली दूतावासले मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन र शव नेपाल ल्याउन आवश्यक प्रक्रिया अघि बढाइसकेको छ। कन्सुलर प्रमुख शर्माका अनुसार, मृतकका परिवारलाई सहानुभूति र सहयोगका लागि सबै पहल गरिँदै छ।