
कपिलवस्तु – कृष्णनगर नगरपालिकाको सभा हलमा खोप समन्वय समिति, सरोकारवाला निकाय तथा संचारकर्मीहरूलाई लक्षित गरी एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियानसम्बन्धी अभिमुखीकरण गोष्ठि सम्पन्न भएको छ।
गोष्ठिमा स्वास्थ्यकर्मी, पत्रकार तथा स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा खोप अभियान २०८१ को परिचय, यसको औचित्य तथा सञ्चालन प्रक्रियाबारे संक्षिप्त जानकारी प्रदान गरिएको थियो। साथै, खोपलाई नियमित खोप सेवामा समावेश गरी सुदृढीकरण गर्ने विषयमा छलफल गरिएको थियो।
यस अभियान अन्तर्गत खोप लगाउन छुट्न सक्ने समुदाय तथा स्थानहरूको पहिचान गरी सबै छात्रा तथा किशोरीलाई खोप उपलब्ध गराउने रणनीति अवलम्बन गर्न स्वास्थ्य संस्थाहरुलाई आवश्यक सल्लाह र सुझाव दिइएको छ।
उक्त कार्यक्रमले एचपीभी खोप अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहजीकरण गर्ने विश्वास लिइएको छ।