
कमलेशचन्द्र गुप्त, २९ माघ –
कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ लिंकगेट क्षेत्रमा लागुऔषध तस्करहरूलाई कडाइ गर्दै आएको प्रहरीले पुनः ब्राउन सुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले पछिल्लो समय लगातार रूपमा लागूऔषध बरामद गर्दै तस्करहरूलाई नियन्त्रणमा लिइरहेको छ।
मंगलबार दिउँसो करिब ३:३० बजे नेपाल प्रवेश गर्ने क्रममा भारतीय नम्बर प्लेटको MH 02 CD 1526 गाडी जाँच गर्दा ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरू भारत, उत्तर प्रदेश, सिद्धार्थनगरका ३६ वर्षीय इकरामुद्दीन र १९ वर्षीय नसिम खान रहेका छन्।
प्रहरीले इकरामुद्दीनको शरीर खानतलासी गर्दा १०० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो। साथै, गाडीभित्र थप १६० मिलिग्राम ब्राउन सुगर लुकाइएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको साथबाट REALME मोबाइल र गाडी समेत बरामद गरिएको छ।
लगातार तस्करहरू प्रहरीको फन्दामा
कृष्णनगर क्षेत्रमा पछिल्ला केही महिनायता लागुऔषध तस्करीका गतिविधि बढिरहेका छन्। माघ २२ गते मात्र प्रहरीद्वारा दुई नेपाली नागरिकलाई ब्राउन सुगरसहित पक्राउ गरिएको थियो। त्यसअघि माघ १४ गते एक भारतीय महिलालाई चरेससहित नियन्त्रणमा लिइएको थियो।
सुरक्षा स्रोतका अनुसार प्रहरीको नियमित गस्ती र कडाइका कारण सीमावर्ती क्षेत्रमा लागुऔषध तस्करहरूको सक्रियता निरन्तर फेला परिरहेको छ। कपिलवस्तु जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरीले लागुऔषध तस्करी नियन्त्रणलाई अझ कडा बनाउने र सीमावर्ती क्षेत्रमा निगरानी थप बढाइने जनाएको छ।