
रुपन्देही , चैत १ ।
गोपाल सेवा समिती क्षेत्र नम्बर ५, रुपन्देहीले बिहीबार गैडहवा-६, सुर्यपुरामा होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा गोपाल सेवा समितीका केन्द्रिय उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष भरथरी यादव प्रमुख अतिथि रहनुभएको थियो। उहाँले समितिलाई हरेक वडासम्म विस्तार गर्नुपर्नेमा जोड दिँदै यादव समुदायको एकता आवश्यक रहेको बताउनुभयो। समितिले राधाकृष्ण मन्दिर निर्माणमा पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्यो।
शुभकामना मन्तव्य राख्दै जिल्ला सदस्य रामचन्द्र यादवले यादव समुदायलाई एकजुट गराउने समितीको भूमिकाको चर्चा गर्नुभयो। बरिष्ठ सल्लाहकार अम्बिका यादवले महिला सहभागिता बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो।
क्षेत्रीय अध्यक्ष रामबेलास यादवले शिक्षाको महत्वलाई जोड दिँदै समाजमा परिवर्तनका लागि चेतनाको आवश्यकता रहेको बताउनुभयो। कार्यक्रम विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।




