
कपिलवस्तु , असोज २३
जिल्ला भित्र रहेका बुद्ध संग सम्बन्धित पर्यटकिय र पुरातात्त्विक स्थलहरुको हेरचाह र संरक्षणको जिम्मा लुम्बिनी बिकास कोषको हो । तर कोषले गर्नुपर्ने हेरचाह गरेको पाइएको छैन ।
कपिलवस्तुका केहि बुद्ध स्थलमा हालै भएका केहि घटनाले सिङ्गो देशको बेइज्जत भएको छ । तिलौराकोट दरबार क्षेत्रको उत्तर तर्फ रहेको प्राचीन जोडी स्तुपको हेरचाह नहुदा बेवारिसे बन्न पुगेको छ । शुक्रबार तिलौराकोट दरबार क्षेत्र अवलोकन गर्न आएका भ्यतनामि तिर्थ यात्रीहरु जोडी स्तुप अवलोकन गर्न पुगेका थिए । त्यहाँ पुगेपछि जोडी स्तुपमा सरसफाइ नभएको हुँदा जताततै घास उम्रेका थिए । जोडी स्तुपको अवस्था देखेर भ्यतनामि तिर्थ यात्रीहरु स्वयं त्यस जोडी स्तुपको सरसफाइ गरेका थिए ।

यस्तै शनिबार पुन भ्यतनामि तिर्थ यात्रीहरु तौलिहवाको दक्षिणमा अवस्थित पुरातात्त्विक स्थल कुदान अवलोकन गर्न पुगेका थिए । हालै भएको बर्षाका कारण कुदान क्षेत्र भित्र पानी जमेको थियो । पानी जमेपछि त्यहाँ आवतजावत गर्न बैकल्पिक ब्यवस्थापन त्यहाँका कर्मचारीले मिलाउनु पर्ने हो । तर त्यहाँ त्यस्तो कुनै ब्यवस्था नभएको खण्डमा तिर्थ यात्री कुदान परिसर भन्दा बाहिरबाट आफै इट्टा बोकि ल्याइ बैकल्पिक बाटो बनाइ अवलोकन गरेका थिए । तिर्थ यात्रीले इट्टा बोकि पानी जमेको ठाउँमा राख्न थालेपछि बल्ल त्यहाँका सुरक्षा गार्डले समेत इट्टा बोकि ल्याएका थिए।
यासैगरि कुदान परिसरमा आउने बिदेशी तिर्थ यात्री र पर्यटक संग स्थानीय बालबालिका र वृद्ध समेतले पैसा माग्दै दुख दिने गरेका छन् । शनिबार कुदान आएका थाइ तिर्थ यात्रीहरुलाइ समेत भिख माग्ने बालबालिका र वृद्धले दुख दिएका छन् । कुदन परिसर भित्र भिख माग्दै तिर्थ यात्री र पर्यटकलाइ दुख दिनु लाजमर्दो कुरो हो ।
यस्तै अनेकन घटना हुनेगरेता पनि लुम्बिनी बिकास कोषले चासो देखाएको देखिन्न । यस्तो बिजोग अवस्था र घटनाले गर्दा लुम्बिनी बिकास कोषको ब्यवस्थापन प्रति गम्भीर प्रश्न उठेको छ । कपिलवस्तुका नागरिक समाजले लुम्बिनी बिकास कोषले कपिलवस्तुलाइ हेला गर्दै लुम्बिनी मै सिमित भएको आरोप लगाउने गरेका छन् । लुम्बिनी बिकास कोषले कपिलवस्तुका पुरातात्त्विक सम्पदाको संरक्षण र प्रबर्द्धनमा ध्यान नदिए पर्यटक घटने संभावना प्रबल रहेको छ ।