
कपिलवस्तु, साउन ११
स्वास्थ्य सेवामा सबैका लागि सर्वसुलभ पहुँच सुनिश्चित गर्नका लागि स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन सम्बन्धी “परिमार्जित नियम कानुनहरूको बारेमा १ दिने छलफल तथा गोष्ठी” कपिलवस्तुमा सम्पन्न भएको छ।
जिल्ला समन्वय समितिको हलमा आयोजित उक्त कार्यक्रम साउन ११ गते विहान १० बजे प्रारम्भ भएको थियो। नेपाल सरकार, स्वास्थ्य बीमा बोर्ड तथा जिल्ला समन्वय समिति, कपिलवस्तुको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरू, स्थानीय तहका प्रतिनिधिहरू, स्वास्थ्यकर्मी तथा बीमा क्षेत्रमा कार्यरत विज्ञ तथा दर्ता सहयोगीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
“स्वास्थ्य सेवामा सर्वसुलभ पहुँचका लागि स्वास्थ्य बीमा” भन्ने मूल नारासहित सञ्चालन गरिएको गोष्ठीमा परिमार्जित कानुनको व्याख्या गर्दै बीमाको नयाँ कार्यान्वयन नीतिहरू प्रस्तुत गरियो। स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क कार्यालय कपिलवस्तुका संयोजक वशिष्ठ तिवारीले परिमार्जित नियमहरूको बारेमा प्रष्ट पार्दै सहभागीहरूसँग खुला छलफल गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष थिए भने विशेष सहभागिता जिल्ला दर्ता सहयोगीहरूको समेत रहेको थियो।
गोष्ठीमा प्रस्तुत गरिएको परिमार्जित नियमअनुसार अबदेखि रिफर सिस्टम हटाइने, प्रत्येक महिना बीमा नवीकरण आवश्यक पर्ने, घातक ८ प्रकारका रोगमा २ लाख रुपैयाँसम्म उपचार खर्च छुटको व्यवस्था गरिने लगायतका महत्वपूर्ण बुँदाहरूमा विस्तृत छलफल गरिएको थियो।
त्यस्तै, नयाँ बीमा दर्ता प्रक्रिया, नवीकरण प्रणाली, कार्यान्वयनमा देखिएका व्यवहारिक समस्या र सुधारका उपायहरूबारे पनि सहभागीहरूले आ-आफ्ना धारणा राखेका थिए।
गोष्ठीमा सहभागीहरूको साझा निष्कर्ष थियो कि स्वास्थ्य बीमा प्रणालीलाई अझ पारदर्शी, सहज र जनमैत्री बनाउन कानुनी स्पष्टता र व्यावहारिक कार्यान्वयन अनिवार्य छ।
कार्यक्रम समापनमा संयोजक तिवारीले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि यस्ता छलफल र गोष्ठीहरू आगामी दिनमा निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
