
कपिलवस्तु, कृष्णनगर ।
कृष्णनगर नगरपालिका वडा नं. ६ मा युरिया मल वितरण प्रक्रियामा विवाद देखिएको छ। नगरपालिकाको कृषि शाखाका अनुसार मरहीमाई कृषि सहकारी संस्थाले साल्ट ट्रेडिङ कर्पोरेसन कृष्णनगरबाट ८७ बोरा र कृषि सामग्री कम्पनी लिमिटेडबाट ६५ बोरा गरी कुल १५२ बोरा मल प्राप्त गरेको र २३ बोरा पुरानो मौज्दात गरि जम्मा १७५ बोरा थियो ।
तर, किसानहरूले सहकारीमा पुगेको मल वितरणमा पारदर्शिता नदेखिएको आरोप लगाएका छन्। उनीहरूको भनाइमा २५ बोरा मल हराएको देखिन्छ भने तोकिएको मूल्यभन्दा बढी पैसा तिरेर मल लिनुपर्ने बाध्यता छ। “हामीलाई लामो लाइनमा बस्नुपर्छ, त्यसमाथि तोकिएकोभन्दा बढी पैसा तिर्नुपर्छ, सहकारी पारदर्शी छैन,” किसानहरूको गुनासो छ।
यसविपरीत, सहकारी सञ्चालक रबि प्रकाश उपाध्यायले भने सबै मल नियमअनुसार वितरण भएको दाबी गरेका छन्। उनले १६५ बोरा मल रीतपूर्वक वितरण गरिएको र १० बोरा स्टकमा राखिएको उल्लेख गर्दै, “लफडा गर्ने नियतले आएका व्यक्तिहरूले बदनाम गराउन खोजेका हुन्, मैले निष्पक्ष रूपमा वितरण गरेको हुँ,” भनेका छन्।



