
कमलेश चन्द्र गुप्ता – कपिलवस्तु ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका–५, पुरुषोत्तमपुरस्थित जनता आधारभूत विद्यालयमा समाजसेवी मनोज जैसवालको पहलमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। शिविरमा श्री रण अम्बिका शाह आँखा अस्पताल, शाखा कार्यालय कपिलवस्तुको प्राविधिक सहयोगमा १८५ जनाले आँखा जाँच गराएका थिए। तीमध्ये ४५ जना मोतियाबिन्द रोगीलाई निःशुल्क शल्यक्रियाका लागि छनोट गरिएको अस्पतालले जनाएको छ। शिविरमा प्रमुख नेत्र चिकित्सक डा. रबिन्द्र गुप्ताको नेतृत्वमा आएको चिकित्सक टोलीले बिरामीको आँखा जाँच तथा परामर्श प्रदान गरेको थियो। आयोजक समाजसेवी मनोज जैसवालले समाजमा सेवा पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।



