
काठमाडौं, असोज २०
आगामी २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग, नेपालले आवश्यक कार्यतालिका स्वीकृत गरेको छ। आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन कार्यतालिका अनुमोदन भएको जानकारी दिएको हो।
निर्वाचन आयोगका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने कार्यक्रम रहनेछ। पहिलो चरणको निर्वाचन हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र फागुन ३ देखि १८ गतेसम्म प्रचारप्रसार कार्य सञ्चालन हुने बताइएको छ।फागुन ११ गतेदेखि १८ गतेसम्म उम्मेदवार मनोनयनका कार्यक्रम सञ्चालन हुने र फागुन १९ गते मौन अवधि सुरु हुने उल्लेख गरिएको छ। आयोगका अनुसार मंसिर १ देखि १० गतेसम्म दर्ता भएका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि भाग लिन पाउनेछन्। सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा आयोगले सबै राजनीतिक दल र सरोकारवालाहरूसँग समन्वय र सहयोगका लागि आह्वान गरेको छ। आयोगले निर्वाचन कार्यतालिका अनुसारका सम्पूर्ण तयारी समयमै सम्पन्न हुने विश्वास पनि व्यक्त गरेको छ।
