
असोज २८ कपिलवस्तु ।
जिल्लामा भन्सार छली गरी अवैध रूपमा सामान ओसारपसार गर्ने दुई जना व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार विभिन्न स्थानमा प्रहरीले गरिएको चेकजाँचका क्रममा ठूलो परिमाणमा सामान बरामद गरिएको हो।
मंगलबार दिउँसो २:३५ बजेको समयमा कृष्णनगर नगरपालिका–८, नेपाललाल बजार नजिकैबाट अवैध रूपमा भारततर्फ निकासी गर्न तयारी अवस्थामा रहेका फलफूलहरू बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामानको अनुमानित मूल्य रु. १,२५,५०१ बराबरको रहेको छ। प्रहरीले ४७२ के.जी. फलफूलसहित एक व्यक्तिलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कृष्णनगरमा बुझाएको बताइएको छ।
त्यसैगरी, बिहान ७:०९ बजेको समयमा मायादेवी गाउँपालिका–४ स्थित महेशपुर खण्डमा चेकजाँचका क्रममा ना.६ख ५५४२ नम्बरको ट्रकमा बिबिध प्रकारका बिलबिना सामान फेला परेको प्रहरीले जनाएको छ। ट्रकमा रहेका पुराना प्लास्टिकका टुक्रा (कचरा) लगायतका सामानको मूल्य रु. ८,२१,५०१ रहेको बताइएको छ।
प्रहरीका अनुसार उक्त ट्रक र चालकलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।
प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी रियेन्द्र कुमार सिंहका अनुसार भन्सार छली तथा अवैध कारोबारविरुद्ध प्रहरीले निगरानी बढाएको र यस्ता गतिविधिमा संलग्नहरूलाई कानुनी दायरामा ल्याइने बताइएको छ।



