
कार्तिक १०— नेपालका इतिहासकै सबैभन्दा कान्छा मन्त्री बनेका छन् सिराहा लहानका युवा बब्लु गुप्ता। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गरेको मन्त्रिपरिषद् विस्तारमा गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको मन्त्री पदमा नियुक्त गरेपछि उनी अहिले देशभर चर्चामा छन्।
केवल २८ वर्षको उमेरमा मन्त्री बनेका गुप्ता लामो समयदेखि समाजसेवामा सक्रिय युवा हुन्। उनले स्थापना गरेको “100 ग्रुप” नामक स्वयंसेवी संस्था मार्फत विपन्न र असहाय परिवारका लागि भोजन वितरण, कपडा सहयोग, र बालबालिकाको शिक्षामा सहयोग जस्ता कार्यक्रम सञ्चालन गर्दै आएका थिए। कोभिड महामारीको समयमा उनले निःशुल्क भोजन र रगत व्यवस्थापन अभियान सञ्चालन गरेर पनि चर्चित बनेका थिए।
राजनीतिमा कुनै ठूला दलको सिफारिसबाट होइन, आफ्नै सामाजिक प्रतिबद्धता र जनसंपर्कको माध्यमबाट उदाएका गुप्ताले मन्त्रीको शपथ लिँदैं भने “धेरै बोलेर बिग्रिएको हो, अब काम गरेर देखाउने समय हो।”
उनको यही सरल तर सशक्त भनाइले युवा पुस्ताबीच उत्साह जगाएको छ। गुप्ताले मन्त्री बनेपछि पहिलो निर्णयका रूपमा मन्त्रालयका बैठकहरूलाई सार्वजनिक र पारदर्शी बनाउने नीति ल्याउने तयारी गरिरहेका छन्।
हाल उनी युवाहरूको रोजगारी, खेलकुद पूर्वाधार र उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित हुन चाहन्छन्। उनका अनुसार, “युवा देशका मेरुदण्ड हुन्, तिनलाई देशमै अवसर दिलाउनु मेरो पहिलो प्राथमिकता हुनेछ।”
बब्लु गुप्ताको यो उपलब्धिले नेपालमा युवा नेतृत्वको सम्भावनामा नयाँ उर्जा भरेको छ। उनी देशकै कान्छा मन्त्री मात्र होइनन्, नयाँ सोच र शैलीका प्रतिनिधि युवा नेताको रूपमा पनि उदाउँदै छन्।




