
कमलेशचन्द्र गुप्ता , कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगर सीमा नाकास्थित लिंक गेटमा प्रहरीद्वारा चेकजाँचको नाममा अवैध असुली भइरहेको खुलासा भएको छ। पारी भारततर्फबाट सामान किनेर फर्किने सर्वसाधारणदेखि व्यापारीहरूसम्मले सधैंजसो असुलीको सामना गर्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार, सामान बोकेर आउने व्यक्तिहरूलाई प्रहरीहरूले चेकजाँचको नाममा रोकेर प्रतिव्यक्ति २० देखि १०० रुपैयाँसम्म असुल गर्ने गरेका छन्। पैसा दिएपछि भने ‘चेक गरेको’ नाटक गर्दै सहजै जाने अनुमति दिने गरिएको छ।
नेपाल प्रवेशद्वारमा तैनाथ प्रहरीहरूले झोला चेक गर्ने बहानामा सामान खोल्ने र यदि कानुनले निषेध गरेका वस्तु भेटिए वा अलि बढी परिमाणको सामान भए, गेटको स्तम्भभित्र बसेका प्रहरीलाई बुझाउनु पर्ने गरेको बताइएको छ। गेटको लागि बनाइएको पश्चिमतिरको स्तम्भको पर्खालभित्र इन्ट्री गर्न बसेका प्रहरी न सिसिटिभी क्यामरा देखिन्छन् न प्रहरी बाहिरबाट स्पष्ट देखिन्छ ।
त्यसैगरी, भारतीय गाडीहरूबाट पनि ‘दर्ता ’ भन्ने बहानामा नगद असुली गर्ने गरेको खुलेको छ। दैनिक रूपमा सामान ओसारपसार गर्ने केही व्यापारीहरूले सो स्थानका इन्चार्जलाई महिनाको निश्चित रकम बुझाउँदै ‘काम सहज बनाउन’ सम्झौता गरेको समेत स्रोतले जनाएको छ।
तर सो विषयमा लिंक गेटका इन्चार्ज नायब निरीक्षक बालकृष्ण थापाले भने ती सबै आरोप असत्य भएको दाबी गरेका छन्। उहाँका अनुसार, “लिंक गेटमा खटिएका प्रहरीले कहि कसैबाट कुनै किसिमको पैसा लिने गरेको छैन, त्यस्तो कार्य भएको छैन,” उहाँले स्पष्ट पार्नुभयो।




